सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छः महामन्त्री थापा

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्ने बताएका छन्।

आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताए।

उनले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला जलवायुजन्य घटनाहरूले यस क्षेत्रमा जलवायु सङ्कटलाई देखाएको उल्लेख गर्दै समयमा नै सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

महामन्त्री  थापाले पाकिस्तानमा हालै आएको बाढीपहिरो, साथै यस क्षेत्रभर देखिएका जलवायुसम्बन्धी अन्य प्रकोपहरूलाई उदाहरण दिँदै यो सङ्कटको गम्भीर स्मरण गराएको बताए। ‘हामीले सीमापारी जोखिम मूल्याङ्कन गर्न सक्छौँ, जानकारी र ज्ञानको सीमापारी साझेदारी गर्न सक्छौँ । जलवायुजन्य सङ्कट न्यूनीकरणका लागि अब चुप लागेर बस्नुहुँदैन,’ उनले भने।  

महामन्त्री  थापाले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिन आवश्यक रहेको बताए। ‘संसदीय बहसहरू, संवादहरू जारी राखौँ’, उनले भने। उनले जलवायुसम्बन्धी मुद्दालाई राष्ट्रिय बहसको मूलधारमा ल्याउन सांसदहरूको भूमिका महत्वपूर्ण रहेको र समुदायस्तरबाट सङ्कलित जलवायु अनुकूलनका ज्ञानलाई राष्ट्रिय नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताए। 

भदौ २, २०८२ सोमबार १५:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।