फरार अभियुक्त पक्राउ गर्न प्रहरीले बढायो सक्रियता, गत आवमा २४ हजार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ गर्न प्रहरीले बढायो सक्रियता, गत आवमा २४ हजार अभियुक्त पक्राउ
Filephoto

काठमाडौं : फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाएको छ। मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्त पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको हो।

आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै बढी संख्यामा फरार अभियुक्तलाई पक्राउ गरिएको मन्त्रालयको दाबी छ। गृह प्रशासनको सक्रियताका कारण सो वर्षमा २४ हजार ३८२ फरार अभियुक्त पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १४ हजार ७६४ फरार अभियुक्त पक्राउ परेका थिए। यसरी २०८०/८१ को तुलनामा २०८१/८२ मा ६५.०८ प्रतिशतले बढी अभियुक्त पक्राउ भएको तथ्याङ्क छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आर्थिक वर्ष २०७९/८० मा ११ हजार ९०२ फरार अभियुक्त पक्राउ भएका थिए। गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृहमन्त्रालय र मातहतका निकायहरूको सक्रियताले उल्लेख्य नतिजा दिएको उनको भनाइ छ।

आव २०८१/८२ मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सबैभन्दा धेरै ६ हजार ३७५ फरार अभियुक्त पक्राउ गरेको छ। त्यसैगरी, कोशी प्रदेशमा ३ हजार ४८९, मधेस प्रदेशमा ५ हजार ७१२, बाग्मती प्रदेशमा १ हजार ७०३, गण्डकी प्रदेशमा १ हजार ४९१, लुम्बिनी प्रदेशमा ३ हजार ९९६, कर्णाली प्रदेशमा ५५६, सुदूरपश्चिम प्रदेशमा ९२८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ फरार अभियुक्त पक्राउ गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।

सो आर्थिक वर्षमा मात्रै रु १ अर्ब ५० करोडभन्दा बढी जरिवाना रकम समेत असुल गरिएको छ। जिल्लास्तरमा काठमाडौं प्रहरी परिसर अग्रस्थानमा रहेको छ। जनघनत्व बढी भएको राजधानीमा दैनिकजसो ठूला-साना अपरेसन सञ्चालन भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बताए। उनका अनुसार काठमाडौंबाट मात्रै ५ हजार ५८५ फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।

जनशक्ति अभाव र सीमित स्रोतसाधनबीच पनि प्रहरीले फैसला कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। काठमाडौं प्रहरी परिसरले गत आर्थिक वर्षमै देशभर सबैभन्दा धेरै फरार अभियुक्त पक्राउ गरेको हो। एक वर्षको अवधिमा परिसरले काठमाडौंबाट ५ हजार ५८५ अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए।

२०८०/८१ मा सो परिसरले १ हजार ६७ फरार अभियुक्त पक्राउ गरेको थियो भने २०८१/८२ मा संख्या बढेर ५ हजार ५८५ पुगेको छ। फैसला कार्यान्वयनलाई विशेष रणनीति बनाएर लागू गरिएको उनले बताए। 

नेपाल प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्य गर्न फैसला कार्यान्वयनलाई उच्च प्राथमिकता दिइएको छ।

भदौ २, २०८२ सोमबार १५:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।