काठमाडौंमा मनाइयो इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस

काठमाडौंमा मनाइयो इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवस

काठमाडौं : इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौंमा विशेष समारोहबीच झन्डोत्तोलन गरिएको छ।

पानीपोखरीस्थित नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतावासको कार्यालय परिसरमा आयोजित समारोहमा नेपाल र इन्डोनेसियाको राष्ट्रिय झन्डा फहराइएको हो।

समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल र इन्डोनेसियाबीचको सुमधुर सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न आफू प्रयासरत रहेको बताए।

उनले दुई देशबीच व्यापार, पर्यटन र अनुभव आदानप्रदानका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउनुपर्नेमा जोड दिए।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल मामिला बंगलादेशको ढाकास्थित इन्डोनेसियाली राजदूतावासले हेर्दै आएको छ।

आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसिया र नेपालबीच व्यापार तथा लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको छ।

कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इन्डोनेसियाली नागरिक, वाणिज्य दूतावासका कर्मचारी तथा आइएमई ग्रुपका सदस्यहरूको उपस्थिति थियो।

भदौ २, २०८२ सोमबार १३:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।