
प्रचण्डको नक्कल गर्दा कमेडियन अर्याललाई धम्की, भिडियो हटाउन दबाब

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी दरबार’मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यङ्ग्यात्मक नक्कल गरेपछि कलाकार विकास अर्यालले धम्की सामना गरेका छन्।
प्रचण्डको भाषण र हालैका केही घटनालाई लिएर गरिएको प्रस्तुतिपछि उनलाई माओवादीका नेता तथा कार्यकर्ताहरूबाट फोन र सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देशहरू आएका हुन्।
कलाकार अर्यालका अनुसार, उनलाई एक अपरिचित नम्बरबाट फोन आएको थियो।
‘हिजो एउटा फोन आएको थियो। त्यसपछिको कल कुरा नै नगरिकन काटिदिए। काटेर ब्लक गरेर डिलिट हान्देको हो,’ उनले उकेरासँगको कुराकानीमा भने, ‘म तपाईको शुभ चिन्तक नै हो। त्यस्तो बोल्ने कुरामा पनि कस्तो कमेडी हुन्छ भन्दै थर्काउने टाइपको थियो। त्यसपछि मैले जवाफ फर्काइनँ।’
के थियो प्रस्तुतिमा?
‘कमेडी दरबार’को पछिल्लो शृङ्खलामा चलचित्र ‘माग्ने राजा’को टोली प्रचारका लागि पुगेको थियो। सोही क्रममा अर्यालले प्रचण्डको भूमिका निर्वाह गरेका थिए भने कलाकार खड्गबहादुर पुन मगर (खबपु)ले एक घाइते पूर्वलडाकुको भूमिकामा थिए।
प्रस्तुतिमा प्रचण्डको चर्चित ‘५ हजारको जिम्मा लिन्छु’ भन्ने अभिव्यक्तिदेखि हालसालै उनी शौचालयमा लडेको घटनासम्मलाई व्यङ्ग्यको विषय बनाइएको थियो।
संवादको क्रममा खबपुले अर्याललाई सोध्छन्, ‘डर त पहिला हामी युद्ध लड्ने बेलामा पनि थियो नि, अध्यक्षज्यू।’
जवाफमा अर्यालले प्रचण्डको शैलीमा भन्छन्, ‘मलाई सामान्य नठान्नुहोस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो।’
त्यसैगरी, अर्को संवादमा नायिका वर्षा सिवाकोटीतर्फ इङ्गित गर्दै खबपुले सोध्दा अर्यालले जवाफ दिन्छन्, ‘मलाई त वर्षाजी पनि माओवादी नै हो कि जस्तो लाग्छ... अब यस्तो लुक्समा हिँडिन् भने १७ हजार कसो नढाल्लिन् र!’
प्रस्तुतिमा प्रयोग भएका शौचालयमा लडेको प्रसङ्ग र १७ हजारको मृत्युलाई नायिकासँग जोडेर गरिएको व्यङ्ग्यले माओवादी कार्यकर्तालाई आक्रोशित बनाएको हो। उनीहरूले यसलाई प्रचण्ड र जनयुद्धको अपमानका रूपमा लिएका छन्।
कलाकार अर्यालले आफ्नो प्रस्तुतिलाई केवल कमेडी र व्यङ्ग्यका रूपमा लिन आग्रह गरेका छन्। उनले राजनीतिक विषयवस्तुलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्नु सामान्य भएको र यसलाई व्यक्तिगत रूपमा लिन नहुने बताए।
भदौ २, २०८२ सोमबार १३:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।