मितेरी सहकारी ठगी : २०२ पृष्ठको अभियोगपत्रमा १३५ पटक धनराज गुरुङ, तर छैन प्रतिवादीको सूचीमा नाम

मितेरी सहकारी ठगी : २०२ पृष्ठको अभियोगपत्रमा १३५ पटक धनराज गुरुङ, तर छैन प्रतिवादीको सूचीमा नाम
तस्बिर : धनराज गुरुङ र उनकी डिभोर्स गरेकी श्रीमती ज्योती गुरुङ। पृष्ठभूमिमा मितेरी सहकारीको कार्यालय रहेको भवन।

काठमाडौं : ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले दायर गरेको २०२ पृष्ठ लामो अभियोगपत्रमा १ सय ३५ ठाउँमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम छ। तर, प्रतिवादीहरूको सूचीमा उनको भेटिँदैन।

सहकारीका सञ्चालक, बुझिलिएका ब्यक्ती र धनराजले सहकारीबाट गरेको कारोबार गरेकोबारे अभियोग पत्रमा जे जति विवरण छन् त्यसले धनराज प्रतिवादी बन्न नपर्नुको कारण उनी सत्ताधारी दल नेपाली कांग्रेसका सांसद तथा पार्टी सभापति बाहेक अन्य देखिंदैन।

अभियोगपत्रभरी सहकारीको रकम ज्योतीले अपचलन गरेको खुलेसँगै सामूहिक छलफलमा बसेर रकम तिर्ने वाचा गर्नेदेखि लिएर अनधिकृत रुपमा अर्काको मुद्दती खाताबाट लिएको रकम ठगीको पोल खुलेपछिको मितिमा तिरेका विवरणहरू छन्।

धनराजले ठगी ज्योतीले गरेको र उनीसँग आफ्नो सम्बन्धविच्छेद भइसकेको जिकिर गरेका छन्। अभियोग पत्रमै समेटिएका घटनाक्रमहरूलाई एक अर्कासँग जोड्ने हो भने सम्बन्धविच्छेदको कारण श्रीमान-श्रीमतीबीच मनमुटाव भन्दा पनि सहकारीको रकम अपचलनबाट जोगिने रणनीति मुख्य रुपमा देखिन्छ।

सहकारीको रकम ज्योतीले अपचलन गरेको खुलेपछि छलफलमा बस्दा छोराले कमाएर पठाएपछि तिर्छु भनेर धनराजले वाचा गरेको दाबी गर्ने साक्षीहरू एक हैन आधा दर्जन हाराहारीमा छन् अभियोग पत्रमै। मौखिक वाचा गरेपछि पत्याएको भनेर यती धेरैले प्रहरी बयानमा खुलाए पनि प्रहरीले भने एकल धनराजले कतै वाचा गरेको छैन भन्ने दाबीलाई नै टेकेको देखिन्छ।

जुन बेलामा सहकारीको रकम ज्योतीले अपचलन गरेको खुलेको थियो त्यो बेलामा धनराजको सम्बन्धविच्छेद भएको थिएन। यता सहकारीको १३ करोड बढी रकम ज्योतीले अपचलन गरेको खुल्नु, धनराजले अष्ट्रेलियामा गएको छोराले कमाएर पठाएपछि  विस्तारै तिर्छु भन्नु, एकाएक दुवैको सम्बन्धविच्छेद हुनु अनि ज्योती फरार हुनु संयोग मात्र देखिन्न यो ठगीमा।

सहकारीमा प्रवेश गराउने धनराज

अभियोगपत्र अनुसार, २०५७ सालतिर धनराज गुरुङले आफ्नी पत्नी ज्योती गुरुङलाई मितेरी सहकारीमा रोजगारी दिलाउन पहल गरेका थिए। धनराजले पनि यो स्विकार गरेका छन्। घरको आर्थिक अवस्था राम्रो नभएकाले श्रीमतीको लागि जागिर खोजेको उनले बयान दिएका छन्।

एक सहायक स्तरको सामान्य कर्मचारीको रूपमा सहकारीमा प्रवेश गरेकी ज्योती क्रमशः अकाउन्टेन्ट, सिनियर अकाउन्टेन्ट हुँदै संस्थाको महाप्रबन्धक बन्न सफल भइन्। यो पदसँगै सहकारीको सम्पूर्ण आर्थिक तथा व्यवस्थापकीय नियन्त्रण उनको हातमा आयो।

ज्योती गुरुङको चिनजान ज्योतीबहादुर भण्डारीसँग भएपछि उनले सहकारीमा रकम वचत गर्न आएका बचतकर्ताको पासबुकमा रकम लेखिदिने तर सहकारीको सिस्टममा इन्ट्री नगरी भण्डारीलाई दिने गरेको अभियोगपत्रको विवरणहरूले देखाउँछ।

अभियोगपत्रका विवरणहरू हेर्दा ज्योती गुरुङ नटवरलाल ठगीमा संलग्न भण्डारीको जालमा परेर छोटो समयमा क्रिप्टो करेन्सीबाट मनग्गे कमाउने प्रलोभनमा सहकारीमा रहेको बचतकर्ताहरू रकम दुरुपयोग गरेको देखिन्छ। जब सावाँ र ब्याज गरेर १३ करोड बढी रकम तिर्नुपर्ने देखियो अनि छोडपत्र गरेर ज्योती फरार भइन्।

मगर समाजमा संयुक्त छलफल

२०७६ पुस महिनातिर जब बचतकर्ताको करोडौं रकम सहकारीको खातामा जम्मा नभई हिनामिना भएको तथ्य बाहिरियो, ललितपुरस्थित मगर समाज सेवा केन्द्रमा एउटा आकस्मिक बैठक बोलाइयो।

उक्त बैठकमा महाप्रबन्धक ज्योती गुरुङ एक्लै उपस्थित भइनन्, उनका श्रीमान् धनराज गुरुङ पनि सँगै थिए। अभियोगपत्रमा उल्लेखित विवरण अनुसार, सो बैठकमा ज्योतीले आफूबाट गल्ती भएको स्वीकार गरिन्।

त्यस लगत्तै, धनराज गुरुङले परिस्थितिलाई सम्हाल्ने प्रयास गर्दै ‘अष्ट्रेलियामा रहेको छोराले कमाउन थालेपछि सबैको रकम भुक्तानी गर्ने’ वाचा गरेका थिए। तर, त्यो समयमा कुनै कागज गरिएन। तर जव धनराज अनुसन्धानको दायरामा आए उनले कुनै वाचा नगरेको दाबी गरे। तर छलफलमा सहभागी धनराज र ज्योतीबाहेक सबैले एकै विषय बोलेका छन्।

त्यसपछि मात्रै सम्बन्धविच्छेद भएको धनराजले सहकारीमा जानकारी गराएका थिए। यसले श्रीमतीले ठगी गरेको सहकारीको रकम तिर्ने दायित्वबाट जोगिन केही समयपछि ‘सम्बन्धविच्छेद’ लाई रणनीतिक ढालको रूपमा प्रयोग गरेको देखिन्छ।

अभियोगपत्रले धनराज र ज्योतीबीच २०७६ फागुन २९ गते कानुनी रूपमा सम्बन्धविच्छेद भएको देखाउँछ। तर, यही कानुनी विभाजनलाई व्यवहारले खण्डन गरेका बलियो प्रमाणहरू अभियोगपत्रमा समेटिएका छन्।

सम्बन्धविच्छेदपछि पनि धनराज र ज्योती अमेरिकामा सँगै बसेको र यात्रा गरेको विभिन्न ब्यक्तीहरुको दाबी अभियोगपत्रमा छ। यसका अलावा काठमाडौंको गौशाला-पशुपति क्षेत्रमा रहेको एक होटलमा उनीहरू सँगै बसेको दाबी गर्नेहरू पनि टन्नै देखिए अभियोग पत्रमै।

घटनाबारे बुझिएकाहरुमध्ये केहीले धनराजले नेपाल विद्यार्थी संघको अमेरिकामा हुने कार्यक्रममा ज्योतीलाई लगेर उतै छाडेर आएको समेत दाबी गरेका छन्।

सबैभन्दा बलियो प्रमाणको रूपमा, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिँदा धनराज गुरुङले आफ्नो फारममा ज्योती गुरुङलाई ‘श्रीमती’ को रूपमा उल्लेख गरेका थिए। यो उनी आफैंले भरेको फाराम हो।

सहकारीका पदाधिकारीहरूले समेत उनीहरूको सम्बन्धविच्छेदबारे एक वर्षपछि मात्र थाहा पाएको बयान दिएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्र अनुसार, उनले सहकारीबाट लिएका ऋणका तमसुकहरूमा सम्बन्धविच्छेद भइसकेपछि पनि हकवालाको रूपमा ज्योती गुरुङलाई ‘श्रीमती’ भनेर उल्लेख गरेका छन्।

ऋण स्वीकृति प्रक्रियामा समेत उपसमितिलाई बाइपास गरी सिधै अगाडि बढाइएको आरोप छ। यी सबै तथ्यलाई जोड्दै अभियोगपत्रले ‘मुख्य योजनाकार धनराज गुरुङ हुनसक्ने’ बलियो आशय व्यक्त गर्छ।

अभियोगपत्रले प्रदीप उर्फ प्रितम अधिकारी, ‘सरोज भाइ’, ‘राज किशोर मामा’, ‘सुशिल उर्फ दुबे’ जस्ता मध्यस्थकर्तामार्फत भारत, सिंगापुर, थाइल्यान्ड र क्याम्बोडियासम्म पैसा पुर्याउने अन्तर्राष्ट्रिय नेटवर्कको पर्दाफास गरेको छ। यो नेटवर्कमार्फत करोडौं रुपैयाँ विदेश पुर्याइएको दाबी गरिएको छ।

यस्तो मितेरी सहकारी ठगीसम्बन्धी अभियोगपत्र:

भदौ २, २०८२ सोमबार १३:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।