
आशिफको अर्धशतकको बाबजुद अस्ट्रेलियामा नेपालको लगातार तेस्रो हार, मेलबर्न स्टार्ससँग ३१ रनले पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।
१७७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमा समेटियो। नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।
नेपालले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन सकेन। ओपनर कुशल भुर्तेलले १३ बलमा ४ चौकासहित २५ रनको आक्रामक सुरुवात दिलाएका थिए। तर, उनी आउट भएलगत्तै भीम सार्की १ रनमै पेभेलियन फर्किएपछि नेपाल ३२-२ को स्थितिमा पुग्यो।
तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र आसिफ शेखले ८७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको आशा जीवितै राखेका थिए। आसिफले ४८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले। रोहितले ३३ रन जोडे।
यो साझेदारी टुटेसँगै नेपालको मध्यक्रम धर्मरायो। आसिफ रनआउट हुन पुगे भने त्यसपछि आएका दीपेन्द्र सिंह ऐरी १ रनमै आउट भए। कुशल मल्लले पनि ११ रनभन्दा बढी जोड्न सकेनन्। आरिफ शेख ८ रनमा अविजित रहे।
मेलबर्नका लागि अस्टिन एनलेजार र डाउ वारेनले समान २-२ विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको योगफल तयार पारेको थियो।
सोमपाल कामीले ओपनर क्याम्पबेल केलावेलाई २ रनमै आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, दोस्रो विकेटका लागि थोमस रोजर्स र ब्लेक म्याकडोनाल्डले १२२ रनको शतकीय साझेदारी गर्दै मेलबर्नको इनिङ्स उकासे।
यो साझेदारी सन्दीप लामिछानेले तोडेका थिए। म्याकडोनाल्डले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको विस्फोटक ब्याटिङ गरे। रोजर्सले ४६ बलमा ७ चौका र १ छक्कासहित ४६ रन जोडे। साम हार्पर ११ रनमा अविजित रहे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए। सोमपाल कामी र साहब आलमले समान एक-एक विकेट लिए।
सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश 'ए' सँग पराजित भएको थियो। नेपालले आफ्नो अन्तिम खेल भोलि होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ।
भदौ २, २०८२ सोमबार ११:१७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।