
चितवनमा चोरी गर्न बालबालिका प्रयोग

चितवन : गत एक वर्षमा विभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात जना बालबालिका पक्राउ परेका छन्।
त्यसैगरी बलात्कारमा पाँच, बलात्कार प्रयासमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एक जना बालक पक्राउ गरी कारबाही गरिएको हो।
प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा बिभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थालेको छ। विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो।
उनले भने, ‘बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्।’
लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ। सार्वजनिक कसूर÷अभद्र व्यबहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन्।
उनले भने, ‘चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ। यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ।’
भदौ २, २०८२ सोमबार ११:०९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।