मध्यराति बूढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

मध्यराति बूढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बूढानीलकण्ठ नगरपालिका-७, स्पेसल चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको घाइते भएका छन्।

गएराति पौने २ बजे बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको डिओ स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा सिराहाको जन्दह-४ घर भएका २९ वर्षीय भोला थापा रहेका छन्। उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा राति सवा दुई बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मृत्यु भएका अर्का अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन। कालो पाइन्ट र सेतो टिसर्ट लगाएका उनको पनि शिक्षण अस्पतालमै मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते हुनेहरूमा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ-८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार छन्। उनको निधार र बायाँ खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ।

अन्य दुई घाइतेको पनि पहिचान खुल्न सकेको छैन। एक जना अन्दाजी २८-३० वर्षीय पुरुषको बायाँ हात र टाउकोमा चोट लागेको छ भने अर्का अन्दाजी ३०-३२ वर्षीय पुरुषको पनि टाउकोमा गम्भीर चोट लागेको छ।

उनीहरू दुवैको अवस्था गम्भीर रहेको र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग बुढानिलकण्ठले जनाएको छ।

भदौ २, २०८२ सोमबार ०९:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।