
मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा जगन्नाथ दास नियुक्त

काठमाडौं : खानेपानी मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगन्नाथ दासलाई नियुक्त गरेको छ।
यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरका प्रमुख रहनुभएका दासले आइतबार पदभार ग्रहण गरिसकेको समितिले जनाएको छ।
यसैबीच, समितिका तत्कालीन कार्यकारी निर्देशक इन्जिनियर रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उप-महानिर्देशकमा सरुवा गरिएको छ।
विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार, नयाँ नियुक्तिसँगै विभागको परिवर्तित संरचनाअनुसार तीनै जना उप-महानिर्देशकको पदपूर्ति भई विभागले पूर्णता पाएको छ।
श्रेष्ठले भने, ‘अब तीनवटै महाशाखा प्रमुखको पदपूर्ति भएको छ। गत आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गरेको विभागले चालु आर्थिक वर्षमा शतप्रतिशत प्रगति गर्ने लक्ष्य लिएको छ।’
आर्थिक वर्षको सुरुमै नेतृत्व तह पूर्ण हुँदा विभागले थप रफ्तारमा काम गर्ने विश्वास पनि उनले व्यक्त गरे।
विभागका अनुसार, उप-महानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, बालमुकुन्द श्रेष्ठलाई ढल तथा सरसफाइ व्यवस्थापन महाशाखा र नारायणप्रसाद आचार्यलाई सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी तोकिएको छ।
भदौ २, २०८२ सोमबार ०८:२५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।