
युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौंको प्रदर्शन

एजेन्सी : इजरायलमा हजारौं मानिसले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासको कब्जामा रहेका बन्धकहरूलाई रिहा गर्न माग गर्दै विशाल विरोध प्रदर्शन गरेका छन्।
आइतबार राति तेल अभिभको ‘होस्टेजेज स्क्वायर’मा ठूलो भीड जम्मा भएको थियो। एक दिने राष्ट्रिय हड्तालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे। प्रदर्शनका क्रममा दिनभरिमा करिब ४० जनालाई पक्राउ गरिएको छ।
विरोध प्रदर्शनका आयोजकहरूले सरकारको गाजा शहरमाथि नियन्त्रण गर्ने योजनाले हमासको कब्जामा रहेका २० जना बन्धकको ज्यान जोखिममा परेको बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई थप कडा बनाउने’ र बन्धकहरूको रिहाइमा ढिलाइ गर्ने बताउनुभएको छ।
गाजा युद्धको सुरुवात ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट भएको थियो। उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो।
यता, गाजामा हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले गाजामा गरेको सैन्य कारबाहीमा अहिलेसम्म ६१ हजार भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।
भदौ २, २०८२ सोमबार ०७:३७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।