
रूसद्वारा २१ हजार युक्रेनी बालबालिकाको अपहरण, युक्रेनविरुद्ध लड्न ‘ब्रेनवश’ गराइएको दाबी

एजेन्सी : युक्रेनको सुरक्षा सेवाले युद्ध सुरू भएयता रूसले २१ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई अपहरण गरेको गम्भीर दाबी गरेको छ।
उसका अनुसार, अपहरण गरिएका बालबालिकाहरूलाई विभिन्न गोप्य स्थानमा राखेर युक्रेनविरुद्ध नै युद्ध लड्नका लागि ‘ब्रेनवश’ गरिँदैछ।
येल विश्वविद्यालयको एक अनुसन्धान समूहले पनि सार्वजनिक तथ्यांक र सामाजिक सञ्जालको विश्लेषणमार्फत आठ हजार ४०० भन्दा बढी बालबालिकालाई योजनाबद्ध रूपमा रूस लगिएको पहिचान गरेको छ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि जबरजस्ती रूस पठाइएका कम्तीमा ११ हजार बालबालिकाको नाम आफूहरूसँग भएको बताएका थिए।
युक्रेनी सुरक्षा सेवाले बालबालिकाहरूलाई राखिएका करिब १५० स्थान पत्ता लगाएको बताएको छ। तर, यति ठूलो संख्यामा बालबालिका अपहरण गरिए पनि हालसम्म रूसले केवल एक हजार २०० लाई मात्र फिर्ता पठाएको युक्रेनको भनाइ छ।
युक्रेनी बालबालिकाको अपहरणलाई संयुक्त राष्ट्रले ‘युद्ध अपराध’को संज्ञा दिएको छ। नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले यस मामलामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ घोषणा गर्दै पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा पनि बारम्बार यी बेपत्ता बालबालिकाको मुद्दा उठाउँदै आएका छन्। साथै, अमेरिकी सिनेटको एक समूहले रूससँग हुने कुनै पनि शान्ति सम्झौताअघि सबै युक्रेनी बालबालिकाको फिर्ता सुनिश्चित हुनुपर्ने प्रस्ताव गरेको थियो।
रूस-युक्रेन युद्धका कारण ५० लाखभन्दा बढी युक्रेनी बालबालिका आफ्नो घर छाडेर विस्थापित हुन बाध्य भएका छन्, जसले उनीहरूको शिक्षा र अन्य मौलिक अधिकारको गम्भीर हनन गरेको छ। विशेषगरी, रूसले कब्जा गरेका पूर्वी युक्रेनी भू-भागमा बसोबास गर्ने १६ लाख बालबालिका सबैभन्दा बढी कठिनाइको सामना गरिरहेका छन्।
मिडिया रिपोर्टहरूका अनुसार, युद्धको त्रासदीका कारण युक्रेनी बालबालिकाहरूको ठूलो संख्या गम्भीर मानसिक तनावबाट गुज्रिरहेको छ, जसबाट उनीहरू कहिल्यै उब्रिन नसक्ने त्रास छ।
भदौ २, २०८२ सोमबार ०७:२३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।