बागमती, लुम्बिनी र कोशीका केही स्थानमा भारी वर्षाको चेतावनी

बागमती, लुम्बिनी र कोशीका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम साधारणतया बदली रहने र केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुन केही कमजोर रहे पनि बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण वर्षाको सम्भावना कायमै रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, देशका बाँकी पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा पनि वर्षा हुनेछ। विशेषगरी, लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति कोशी र मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान छ।

रातिको समयमा मधेश प्रदेश, कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुँदा नदी किनार तथा कमजोर भू-भाग वरपर बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भदौ २, २०८२ सोमबार ०७:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।