मितेरी सहकारी ठगी प्रकरणको मुख्य योजनाकार ज्योति, धनराज प्रतिवादी बनेनन्

मितेरी सहकारी ठगी प्रकरणको मुख्य योजनाकार ज्योति, धनराज प्रतिवादी बनेनन्

काठमाडौं : ललितपुरको महालक्ष्मिस्थानमा सञ्चालित मितेरी सहकारीमा देखिएको ठगी प्रकरणमा आठ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सोही आधारमा आइतबार ठगी, लिखत सम्बन्धी अपराध, अभौतिक मुद्रा सम्बन्धी कसुर, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका उल्लङ्घन र सङ्गठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

मुख्य आरोपी फरार, एक पक्राउ
अनुसन्धान अनुसार, सहकारी ठगी प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीलाई मुख्य भूमिकामा राखिएको छ।
गुरुङ हाल फरार छिन्। भण्डारीलाई भने प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।

भण्डारीले बयानमा गुरुङको संलग्नता पुष्टि गर्दै, ठगी गतिविधि उनको निर्देशनमै सञ्चालन भएको बताएका छन्। अन्य प्रतिवादीहरूले पनि गुरुङकै मुख्य भूमिका रहेको स्वीकार गरेका छन्।

अनुसन्धानमा सहकारीमा सङ्कलित रकमलाई हुन्डीमार्फत थाइल्यान्ड, सिंगापुरलगायत मुलुकमा पठाइएको तथ्य फेला परेको छ।

यसमा भरत गुरुङ,सुरेश अधिकारी, सुवास कार्की, ‘राकेश’ नामक भारतीय नागरिक ‘मामा’ भनिने व्यक्ति समेतको नाम सार्वजनिक भएको छ।

किर्ते राहदानी कम्पनीको बहाना
भण्डारीले प्रयोग गरेको किर्ते राहदानी गुरुङकै पहलमा बनेको खुलासा भएको छ। उनले थप बयानमा गुरुङले हुन्डीमार्फत सहकारीको रकम विदेश पठाउने गरेको बताएका छन्।

त्यसैगरी, प्रतिवादी सुवास खत्रीका अनुसार, गुरुङले भण्डारीसँग मिलेर थाइल्याण्डमा सिपिङ कम्पनी सञ्चालन गरेको बताउने गर्थिन्। सो कम्पनीमा लगानी गर्न पैसा आवश्यक परेको भन्दै सहकारीबाट उठाएको रकम प्रयोग गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

खत्रीले बयानमा गुरुङले ‘पप्पु’ नामक भारतीय नागरिकसहित अन्य दुई भारतीयलाई नगद बुझाउने गरेको उल्लेख छ।

सुरेश अधिकारीको बयानअनुसार, भण्डारीले मात्र करिब ९ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको पाइएको छ। तर सो रकम कहिले फिर्ता गर्ने भन्ने विषयमा गुरुङ आफैँले तनाव व्यक्त गर्ने गरेको उनले बताएका छन्।

अनुसन्धानमा विभिन्न समयमा सहकारीको ठूलो रकम विदेश पठाउन र प्रयोग गर्न ज्योति गुरुङकै सक्रिय भूमिका देखिएको निष्कर्ष निकालिएको छ।

यो ठगी प्रकरणमा नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङ समेत जोडिएका थिए। उनलाई सिआइबीले बयान समेत लिए पनि प्रतिवादी बनाएको छैन।

भदौ १, २०८२ आइतबार २३:४२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।