कर्मचारीसँग तलब विवादबीच उडान सेवा सुरू गर्दै एयर क्यानडा

एजेन्सी : क्यानडाको राष्ट्रिय ध्वजावाहक कम्पनी एयर क्यानडाले आइतबारदेखि आफ्नो अवरुद्ध उडान सेवा पुनः सुरु गर्ने भएको छ। कम्पनीको औद्योगिक सम्बन्ध समितिले करिब १० हजार फ्लाइट अटेन्डेन्ट सहभागी हडताल तत्काल अन्त्य गर्न निर्देशन दिएपछि उडान सञ्चालन हुने भएको हो।
समितिले एयर क्यानडालाई सबै कर्मचारीलाई काममा फर्काउन आदेश दिएको छ। कम्पनीले आइतबार साँझदेखि उडान सुचारु गर्ने तयारी रहेको जनाएको छ। तर सम्पूर्ण सेवा सामान्य अवस्थामा फर्किन अझै केही दिन लाग्ने चेतावनी दिएको छ। यस अवधिमा केही उडान रद्द हुने जानकारी दिइएको छ।
शनिबार बिहानै तलबसम्बन्धी विवादका कारण एयर क्यानडाका क्याबिन क्रु हडतालमा उत्रिएका थिए। हडताल सुरु भएको केही घण्टामै क्यानडाकी श्रम नीतिमन्त्री प्याटी हज्दुले क्यानडा श्रम संहिता धारा १०७ अन्तर्गत कानुनी प्रावधान प्रयोग गर्दै हडताल रोक्ने आदेश जारी गरेकी थिइन्। यससँगै दुवै पक्षलाई बाध्यकारी मध्यस्थतामा जानुपर्ने व्यवस्था गरिएको हो।
एयर क्यानडाका अनुसार हडतालका कारण ७०० भन्दा बढी उडान स्थगित भएका छन्। कम्पनीले दैनिक करिब १ लाख ३० हजार यात्रुलाई सेवा दिने र विश्वका करिब १८० शहरमा सीधा उडान गर्ने बताउँदै यात्रुलाई क्षमताअनुसार सेवा सुचारु गर्ने जनाएको छ।
भदौ १, २०८२ आइतबार २२:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।