यो वर्ष दशैं-तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं : यसपटक दशैं-तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ।
आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताए।
उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ। यसपालीको दशैं तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’उनले भने।
उनले व्यवसायीहरूलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए।
उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरू प्रदेश सरकारको निर्णयअनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए।
‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो। अहिले उहाँहरूले निर्णय गरेपछि उहाँहरूलाई हस्तान्तरण गरेका छौ,’उनले भने।
यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे।
भदौ १, २०८२ आइतबार २१:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।