रेखाले मिडिया नबोलाएरै गरिन ‘३६ को आँकडा’को शुभ मुहूर्त

काठमाडौं : शनिबार अभिनेत्री रेखा थापाले आफ्नो होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६ को आँकडा’ को शुभ मुहूर्त गरिन। अन्य फिल्मको शुभ मुहूर्तमा सय भन्दा बढी क्यामेराले कलाकारलाई घेर्ने चलन भए पनि शनिबार रेखाको फिल्मको शुभ मुहूर्तमा न क्यामेराधारीको भिड थियो, न सञ्चारकर्मीको उपस्थिती। उनले निर्माण टिम र आफ्नै फिल्म क्यामेरा टिमबाहेक कसैलाई बोलाइनन्।
रेखाले सञ्चारकर्मीलाई नबोलाएर सुटुक्क गुह्वेस्वरी मन्दिरमा पूजा गर्दै फिल्मको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरिन्। उनले आफ्नो फेसबुक लाइभ मार्फत फिल्म आउन लागेको जानकारी पनि दिएका छन्।
शुभ मुहूर्तमा अभिनेत्री पूजा शर्मा, पुष्प खड्का, महेश त्रिपाठी र निर्देशक सबिर श्रेष्ठ उपस्थित थिए।
फिल्म सोमबारबाट छायांकन सुरु हुने छ। यसमा रेखाले प्रहरी अधिकारीको भूमिका निर्वाह गर्दैछिन्। निर्देशक सबिर श्रेष्ठ को निर्देशनमा बन्ने यस फिल्ममा रेखासँग पछिल्लो समय चर्चित महेश त्रिपाठी जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्का को जोडी देखिनेछ। फिल्म आगामी चैत २७ गते प्रदर्शनमा आउने छ।
रेखा र निर्देशक श्रेष्ठले यसअघि फिल्म ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘कसले चोर्यो मेरो मन’ लगायतमा सहकार्य गरेका थिए।
रेखाले निर्देशक ज्ञानेन्द्र देउजा सँग मिलेर फिल्म ‘उपहार’ पनि निर्माण गरेकी थिइन्, जुन अघिल्लो फागुनमा प्रदर्शनमा आएको थियो तर फ्लप भयो। यसै वर्ष उनी ‘मीरा’ नाटकमा मुख्य पात्रको रूपमा देखिएकी थिइन्।
भदौ १, २०८२ आइतबार २०:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।