पल्सर स्पोर्ट्स अवार्ड : ‘पिपल्स च्वाइस अवार्ड’का लागि छानिए पाँच खेलाडी, आजैबाट भोट गर्न मिल्ने

पल्सर स्पोर्ट्स अवार्ड : ‘पिपल्स च्वाइस अवार्ड’का लागि छानिए पाँच खेलाडी, आजैबाट भोट गर्न मिल्ने

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड’को २२औँ संस्करण आगामी भदौ २९ गते पोखरामा हुने भएको छ। यस अवार्डको ‘पिपल्स च्वाइस अवार्ड’ श्रेणीका लागि पाँच खेलाडी मनोनयनमा परेका छन्।

छनोटमा परेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सोनारी, क्रिकेटकी पुजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन्। यीमध्ये सर्वाधिक मत प्राप्त गर्ने एक खेलाडीले अवार्ड हात पार्नेछन्।

मञ्चका अनुसार भोटिङ आज (भदौ १) बाट सुरु भएको छ र एक महिनासम्म चल्नेछ। मत दिने प्रक्रिया विभिन्न माध्यमबाट हुनेछ। आइएमई खल्ती डिजिटल वालेटको ५० प्रतिशत मतभार हुनेछ भने सामाजिक सञ्जाल फेसबुकको २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आवद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको १२.५ प्रतिशत र खेलकुद पत्रकार मञ्चका सदस्यको १२.५ प्रतिशत मतभारको संयुक्त आधारमा विजेता तय हुनेछ।

पिपल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन्। गत संस्करणमा भलिबलकी कविता भट्टले सर्वाधिक मत प्राप्त गरी यो अवार्ड जितेकी थिइन्।

यस वर्षको अवार्ड काठमाडौंमा नभई पोखरामा आयोजना गरिनु विशेष मानिएको छ। हरेक वर्ष हुने यो अवार्डमार्फत पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डसहित विभिन्न श्रेणीमा सम्मान प्रदान गरिँदै आएको छ।

भदौ १, २०८२ आइतबार १९:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।