प्रधानमन्त्री भएको १३ महिनापछि ओलीले पाए भारत भ्रमणको औपचारिक निम्तो

प्रधानमन्त्री भएको १३ महिनापछि ओलीले पाए भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको १३ महिनापछि भारत भ्रमणको औपचारिक निम्तो पाएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिइएको छ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्दै उक्त निमन्त्रणा दिएका हुन्।

भेटमा सहभागी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमालका अनुसार भेटमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान र आपसी सम्बन्धका विभिन्न पक्षबारे छलफल गरिएको थियो।

भ्रमणको मितिबारे भने दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। कूटनीतिक संयन्त्रबीचको आपसी समझदारीपछि मात्र प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका सार्वजनिक हुने बताइएको छ।

ओली २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

भदौ १, २०८२ आइतबार १८:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।