पाल्पामा सिन्दुरजात्रा निकालियो

पाल्पा : नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल भएको स्मृतिमा पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा हर्षोल्लासका निकालियो।
यसवर्षको सिन्दुर जात्रा २०६औँ भगवती खट यात्राका रूपमा निकालिएको हो, जसलाई जिल्लाको सबैभन्दा ठूलो जात्राका रूपमा लिइन्छ। नेपाली सेनाले दिउँसो १२:३० बजे भगवतीको रथलाई सलामी अर्पण गरी तीन पटक मन्दिर परिक्रमा गराएपछि नगर परिक्रमा सुरु गरिएको थियो। रथलाई कुमाल समुदायका युवाले काँधमा बोकेर तानसेन बजार घुमाइयो।
जात्रामा पञ्चेबाजा, लाखेनाच, भजनकीर्तन तथा विभिन्न सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरिएको थियो। रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी पुनः मन्दिरमा विसर्जन गर्ने परम्परा रहेको गुठी व्यवस्थापन समितिले जनाएको छ।
सिन्दुर जात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, विद्यार्थी, संघ–संस्था, स्थानीयवासी तथा करिब पाँच हजारभन्दा बढी भक्तजन सहभागी भएका थिए। गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की र रुपन्देहीलगायत जिल्लाबाट समेत भक्तजन आएका थिए।
जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति अशोकराज सिग्देलसहित संघीय र प्रदेश तहका उच्चपदस्थ व्यक्तिहरू उपस्थित थिए। मन्त्रीहरूले सिन्दुर जात्रालाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने र यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
इतिहासकार राजेन्द्रगोपाल सिंहका अनुसार यो जात्रा नेपालको राष्ट्रियता, स्वाभिमान र गौरवसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनले सरकारलाई यसलाई राष्ट्रिय पर्वको रूपमा प्रवर्द्धन गर्न आग्रह गरे। समितिका सदस्यसचिव प्रकाशनाथ गङ्गोलले पाल्पाको जितगढीमा अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको विजय स्मरणमै भगवती जात्रा मनाउन थालिएको बताए।
इतिहासअनुसार विसं १८७१–७२ मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा भएको युद्धमा नेपाल विजयी बनेपछि विसं १८७६ देखि विजयोत्सवका रूपमा सिन्दुर जात्रा सुरु भएको हो। युद्ध अघि थापाले विजय हासिल भएमा महिषासुरमर्दिनी भगवतीको सम्मानमा जात्रा गर्ने भाकल गरेका थिए। युद्धमा लगातार विजय पाएपछि उनले मन्दिर निर्माण गरी यो परम्परा सुरु गरेको जनाइएको छ।
गुठी व्यवस्थापन समितिले सिन्दुर जात्रालाई राष्ट्रिय गौरवका रूपमा संरक्षण र प्रवर्द्धन गर्न सरकारसँग आग्रह गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा यसले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
भदौ १, २०८२ आइतबार १८:१४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।