सिंहदरबारपछि शीतल निवास पुगे भारतीय विदेश सचिव मिश्री

सिंहदरबारपछि शीतल निवास पुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिप्रति प्रसन्नता व्यक्त गर्दै नेपालले त्यसबाट लाभ लिएको र भविष्यमा अझ बढी लाभान्वित हुन चाहेको बताए।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले भारतलाई उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा उल्लेख गर्दै छिमेकी देशबीचको मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

राष्ट्रपतिले नेपाल-भारत सम्बन्ध शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक धरातलमा आधारित रहेको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा टिकेको बताए। उनले नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै भारतको ‘छिमेक पहिले’ नीतिको प्रशंसा गरे।

सो अवसरमा विदेश सचिव मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्ने नीतिअनुसार नेपाल भारतको उच्च प्राथमिकतामा रहेको बताए।

उनले नेपाल भ्रमणका क्रममा दुवै देशबीचको आपसी चासो, हित र विकासका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने तथा आधुनिक युग अनुकूल ‘कनेक्टिभिटी’ विस्तारमा जोड दिने बताएका थिए।

भदौ १, २०८२ आइतबार १५:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।