शिक्षिका तथा कलाकार मिनर्वाको प्रसव पीडा र खुसी : गर्भवती भएपछि बेलायतको भिसा लाग्यो, रद्द गराएर मातृत्व रोजेँ

विभिन्न विद्यालय र कलेजमा अध्यापनको लामो अनुभव सँगालेकी मिनर्वा शर्मा राजोपाध्यायको अर्को परिचय हो- एक कुशल कलाकार। उनको साधना दैवी नृत्यमा केन्द्रित छ, विशेषगरी चरिया नृत्यमा।
बज्राचार्य दीक्षित गुरुहरूले आगममा पूजा गर्दा देवी-देवताको गुह्य स्वरूप धारण गरी विभिन्न हस्त मुद्रासहित नाच्ने यो शास्त्रीय नृत्यलाई उनी आफैँ प्रस्तुत मात्र गर्दिनन्, नयाँ पुस्तालाई सिकाउँछिन् पनि। यो नृत्य उनको लागि केवल कला होइन, साधना र पहिचानको अभिन्न अंग हो।
नृत्यप्रतिको उनको लगाव सानैदेखिको हो, तर एसएलसीपछि भने उनले यसलाई व्यावसायिक रूपमै अंगाल्न थालिन्। यद्यपि, अचेल भने उनी नृत्यमा त्यति सक्रिय छैनन्। उनको अधिकांश समय अध्ययन र अध्यापनको गम्भीर संसारमै बित्ने गरेको छ, जहाँ उनी ज्ञानको ज्योति बाँड्छिन्।
उनी हाल नेपाल भाषामा विद्यावारिधिको तयारीमा छिन्। समाजशास्त्रमा स्नातकोत्तर गर्दा कुमारी संस्कृतिलाई आफ्नो शोधको विषय बनाएकी उनले विद्यावारिधिका लागि भने आफ्नो प्रिय विधा, चरिया नृत्यलाई नै रोजेकी छन्।
यी सबै परिचयभन्दा माथि, उनी दुई सन्तानकी आमा हुन्। उनै मिनर्वा उकेराको साप्ताहिक स्तम्भ ‘प्रसव पीडा र खुसी’ मार्फत आफ्नो मातृत्वको यात्रामा हामीलाई यसरी डोर्याएकी छन्:
०००
दुई दिदीहरू पछि मेरो जन्म भयो, अनि मपछि एक बहिनी र दुई भाइ छन्। यसरी हामी दिदीबहिनी र दाजुभाइको ठूलो परिवार नै एकअर्काको साथी बन्यो, हाम्रो संसार हामीभित्रै पूर्ण थियो।
ड्याडी शिक्षा क्षेत्रमा हुनुहुन्थ्यो। विद्यालय निरीक्षक भएकाले उहाँ विभिन्न जिल्ला पुगिरहनुहुन्थ्यो, र बिदामा हामी पनि उहाँसँगै नेपालका कुनाकाप्चा घुम्न जान्थ्यौँ, जसले हाम्रो दृष्टिकोण फराकिलो बनायो।
राजोपाध्याय परिवारमा जन्मेकाले हाम्रो जीवन पूजापाठ र कर्मकाण्डसँग नजिकबाट जोडिएको छ। हाम्रा ठूलोबुवा पाटन तलेजुका मूल पुजारी हुनुहुन्थ्यो भने अहिले काका पुजारी हुनुहुन्छ।
तलेजुको पुजारी हामी राजोपाध्यायहरू नै हुने परम्परा छ। तर, मेरो बुवा कर्मकाण्डभन्दा शैक्षिक क्षेत्रमा लाग्नुभएकाले हामीलाई सधैँ पढाइमा अब्बल बन्न प्रेरणा दिनुभयो। हाम्रो घरमा परम्परा र आधुनिकताको सुन्दर संगम थियो।
एसएलसी सकेपछि नै म आफ्नो पकेट खर्चका लागि आत्मनिर्भर भइसकेकी थिएँ। मैले व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेपछि मात्र विवाह गरेकी हुँ।
त्यस समयको हिसाबले मेरो विवाह अलि ढिलै भएको मान्नुपर्छ। तर, हाम्रो पहिल्यैदेखि चिनजान भएकाले विवाहका लागि हतारो भएन। नत्र मेरा उमेरका साथीहरूका छोराछोरी नै बिहे गर्ने भइसके।
हाम्रा दुई सन्तान छन्- छोरी एसईईको तयारीमा छिन् भने छोरा कक्षा ६ मा पढ्छ। विवाहको तेस्रो वर्षमा हाम्रो पहिलो सन्तानको आगमन भयो। अहिले फर्केर हेर्दा, छोरीको जन्मका बेला मलाई बढी सकस भएको थियो, यद्यपि त्यसको खास कारण के थियो भन्ने थाहा भएन।
जन्म सामान्य (नर्मल) नै होला भन्ने सोचेकी थिएँ, तर पछि रिपोर्टमा ‘कम्प्लिकेटेड’ लेखिएको रहेछ। यद्यपि, मैले उनलाई प्राकृतिक रूपमै जन्म दिएँ। मलाई रातभरि प्रसव व्यथाले च्यापेको र निकै कष्ट भएको आज पनि याद छ।
परिपक्व उमेरमा विवाह गरेकाले हामीले सन्तानका लागि तत्कालै योजना बनाएका थिएनौं। त्यतिबेला मेरो जीवनको उडान अर्कै दिशामा थियो। म विदेशमा पढ्ने सपना बुनिरहेकी थिएँ र संयोगले श्रीमान्-श्रीमती दुवैजनाको बेलायत जाने कुरा मिलेको थियो।
तर, जिन्दगीले सोचेभन्दा फरक मोड लियो। ठीक त्यही बेला म गर्भवती भएको थाहा भयो। मेरो अगाडि जीवनको सबैभन्दा ठूलो दोसाँध खडा भयो- आफ्नो व्यक्तिगत सपना कि गर्भमा हुर्किरहेको नयाँ जीवन? तर मैले एक पल नसोची बच्चालाई नै छानेँ। आज त्यो निर्णयप्रति गर्व लाग्छ।
गर्भवती भएको दुई महिनासम्म त मलाई पत्तै भएन। नृत्य प्रशिक्षणका लागि लुक्ला जाने तयारीमा थिएँ। भोलिपल्ट यात्रामा निस्किनु थियो, तर किन-किन अघिल्लो रात नै मनमा एउटा अनौठो संशय जागेर गर्भवती परीक्षण गरेँ।
रिपोर्ट पोजेटिभ आयो। एक महिना लामो ट्रेकिङमा उपत्यका बाहिर जाने सबै तयारी भइसकेको थियो, तैपनि मैले जाने आँट गरेँ।
शारीरिक रूपमा त कुनै अप्ठ्यारो भएन, तर मनमा भने बेलायतको सपना र यथार्थबीच द्वन्द्व चलिरहेको थियो। लुक्लामै हुँदा पनि बेलायतका विश्वविद्यालयबाट अन्तर्वार्ताका लागि फोन आइरहन्थे। अन्तर्वार्ताहरू दिइनै राखेको थिएँ।
म छानिनेमा लगभग पक्का थिएँ। पछि भिसा पनि आयो, तर म खुसी हुन सकिनँ। किनभने, भिसाको खबर आउनुअघि नै मैले आफू गर्भवती भएको थाहा भइसकेको थियो। अन्ततः मैले मातृत्वलाई रोजेँ र प्रक्रिया पुर्याएर भिसा रद्द गरेँ। त्यो मेरो जीवनको सबैभन्दा कठिन, तर सबैभन्दा सही र जिम्मेवारपूर्ण निर्णय थियो।
गर्भावस्थाका नौ महिना सामान्य नै रहे। म भक्तपुरको एक माध्यमिक विद्यालयमा पढाउँथें। अरनिको राजमार्ग त्यतिबेला राम्रो थिएन, तैपनि डाक्टरको सल्लाहमा मैले आठ महिनासम्म काम गरिरहेँ। पेटभित्र बच्चा चल्दाको अनुभूतिले मलाई संसारै बिर्साइदिन्थ्यो।
२०६७ सालमा दुई दिन भाइटीका परेको थियो। लक्ष्मी पूजाको दिनदेखि नै पेट हल्का दुख्न थालेको थियो, तर भाइटीका छुट्ला भनेर अस्पताल गएनौं। टीका सकेर जानेबित्तिकै भर्ना भयौं। रातभरको प्रसव व्यथाको पीडा त शब्दमा वर्णन गर्नै सक्दिनँ।
सुत्केरी कक्षमा धेरै डाक्टरहरू थिए। सबले मलाई निकै राम्रोसँग परामर्श गरिराख्नुभएको थियो। ‘बल गर’ भन्नुभएको याद छ। फेरि भ्याकुमले बच्चा तान्नपर्छ भन्ने कुरा आयो। मैले चैँ ‘भ्याकुम बिग्रेको छ’ भन्ने पो सुनेछु। अनि म तर्सिएँ। पछि फोर्सिभ प्रयोग गर्नुभयो। मलाई त्यसबेला के गरिको हो, सबै जानकारी पनि दिइराख्नुभएको थियो मुख्य डाक्टरले।
बच्चा निस्किँदा धेरै गाह्रो भयो। के कारणले त्यस्तो भएको हो त्यो थाहा पाइनँ। तर, नानी जन्मिदा निकै ठूलो थिई। बच्चा ठूलो भएर अफ्ट्यारो भएको रहेछ भन्ने लाग्छ अहिले। नानी देखेपछि त त्यो सबै पीडा क्षणभरमै बिलाएर गयो। त्यही भएर हो कि केहीबेर मजाले निदाएछु।
नानीलाई २४ घण्टा निगरानीमा राखियो। मलाई झन् गाह्रो भयो। हिँडडुल गर्नै नसक्ने भएँ। सुत्केरी कक्षबाट बाहिर निस्किनेबित्तिकै ढोकामा ममीलाई देखेँ र उहाँलाई देख्नेबित्तिकै म भक्कानिएँ।
आफू अस्वस्थ हुँदाहुँदै पनि छोरीलाई हेर्न आउनुभएको देख्दा उहाँप्रतिको मेरो दृष्टिकोण नै बदलियो। मैले पहिलो पटक आमाको आँखाले आफ्नी आमालाई हेरेँ, र मातृत्वको गहिराइ बुझेँ।
जन्मिएको भोलिपल्ट मात्र नानीलाई राम्रोसँग हेर्न पाएको हो मैले। ऊ एकदम चिटिक्क परेकी, औँलाहरू पनि लामोलामो थियो। उसलाई त्यहि बेला उसको निधारमा चुमे। स्तनपान पनि गराएँ। श्रीमानलाई त्यतिबेला नानी बोक्न सिकाउनुपरेको थियो।
सुत्केरी स्याहार राम्रै भयो। केही दिनपछि माइती गएँ। त्यहाँ सबैले निकै माया र स्याहार गर्नुभयो। ४५ दिनपछि म फेरि कलेज पढाउन थालेँ। श्रीमान् र परिवारको साथले मलाई निकै सहज भयो।
छोरी डेढ वर्षकी हुँदा नृत्यकै लागि एक हप्ता चीन जानुपर्यो। एकातिर यता छोरी भोकै होली भन्ने चिन्ता, अर्कोतिर मैले उता दूध फाल्नुपर्ने बाध्यता आयोफ। त्यो क्षण निकै पीडादायी थियो। घर फर्किंदा उसले ‘मामु आयो’ भन्दै मलाई अँगालो हालेर चिच्याएको पल मेरो मानसपटलमा आज पनि जीवन्त छ।
चार वर्ष पछि हाम्रो अर्को सन्तान पनि भयो। त्यसबेला म बिहानै दुइटा कलेजमा पढाउन जान्थेँ। विद्यार्थी विशेषगरी छात्राहरूले मलाई गर्भावस्थामा खुब माया गरे। हामी आफैँ पनि धेरै दाजुभाइदिदीबहिनीको बीचमा हुर्केका थियौँ। दोश्रो सन्तान होस् भन्ने हाम्रो चाहना थियो। अगाडि छोरी भइसकेको भएर एउटा चैँ छोरा होस् भन्ने मेरो मनमा पनि आयो।
दोश्रोमा मलाई पहिलो जस्तो गाह्रो भएन। पहिलो सन्तानमा जुन उत्साह उमङ्ग थियो, दोश्रोमा मैले त्यति अनुभव गरिनँ। सबै आफैँले व्यवस्थापन गर्नुपरेको थियो। तर पहिलो सन्तानमा जस्तो डर चैँ लागेन।
दोश्रोपटक गर्भवती हुँदा मैले चरिया नृत्य पनि सिकाउँथे। पहिलो सन्तानमा आफू मात्र सम्हाले पुगेको थियो। तर, दोस्रोको पालोमा छोरीलाई पनि हेर्नुपर्यो। मैले छोरीलाई समयको अभाव नहोस् भनेर धेरै सतर्क भएर काम गरेँ।
छोराको पालोमा त मैले पूरै गर्भावस्थामा काम गरिराखेँ। छोरा जन्मिने समयमा डाक्टर पनि धेरै थिएनन्। सब राम्रोसँग भयो। उसलाई जन्म दिने बित्तिकै खाना खाएँ। छोरा तुलनात्मक रुपमा छोरी भन्दा अलि सानो थियो। उ ठ्याक्कै नानीको फोटोकपी जस्तो देखिन्थ्यो।
बाबुलाई पनि स्तनपान राम्रोसँग गराएँ। चालिस दिन जति म घर बसेँ। पछि फेरि पढाउन लागिहालेँ। दुई सन्तान भएपछि जिम्मेवारीहरू पनि थपिए। घरमा जो आए पनि भाइलाई बढी माया गरेको देखेपछि छोरीको मनमा आफूलाई वास्ता नगरेजस्तो परेछ।
यो कुरा बुझ्न हामीले केही समय लाग्यो अनि बालमनोविज्ञानको गहिरो पाठ पनि सिकायो। तुलनात्मक रूपमा छोरालाई हुर्काउन मलाई बढी गाह्रो भयो। ऊ अलि बढी बिरामी पनि भयो, जसले गर्दा धेरै स्याहार चाहियो। अरुसँग यसबारे कुरा गर्दा छोराहरूलाई हुर्काउन अलि अप्ठ्यारो नै हुने गरेको भन्ने पाएँ।
अहिले दुवैजना हुर्किंदै छन्। उनीहरूलाई सक्षम बनाउनु नै हाम्रो पहिलो प्राथमिकता हो। उनीहरू जति हुर्किंदै गए, त्यति नै समय व्यवस्थापन गर्न चुनौतीपूर्ण भइरहेको छ। जे होस्, एक महिला भएर जन्मिएकाले प्रकृतिको यो वरदान, मातृत्वलाई अनुभव गर्न पाएकोमा खुसी लाग्छ।
आमा हुनु साँच्चै एउटा विशेष अनुभूति रहेछ। यो जिम्मेवारी मात्र होइन, एउटा गहिरो आत्मिक सम्बन्ध हो। आज पनि उनीहरूलाई अँगालोमा बेर्दा लाग्छ, यो भगवानले दिएको सबैभन्दा अमूल्य उपहार हो, जसको अगाडि संसारका सबै सपना र उपलब्धिहरू फिका लाग्छन्।
भदौ १, २०८२ आइतबार १३:४८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।