भदौमा ११ वाणिज्य बैंकको ब्याजदर स्थिर, आठ वटाले घटाउँदा एउटाले बढायो

भदौमा ११ वाणिज्य बैंकको ब्याजदर स्थिर, आठ वटाले घटाउँदा एउटाले बढायो

काठमाडौं : वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि आठवटा बैंकले भने निक्षेपको ब्याज घटाएका छन् भने एक बैंकले सामान्य बढाएको छ।

कर्जाको माग सुस्त रहँदा बैंकहरूमा अधिक तरलता कायमै रहेकाले निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको हो। साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याजदर दिएका बैंकहरूले भदौका लागि त्यसलाई घटाएर ५.५८ प्रतिशतमा झारेका छन्। यो ०.११ प्रतिशत बिन्दुको गिरावट हो।

भदौ महिनाका लागि एनआईसी एसिया बैंकले सबैभन्दा बढी ६.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको छ, जसले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशत मात्र ब्याज दिनेछ।

यसका अलावा माछापुच्छ्रे, ग्लोबल आइएमई, प्राइम कमर्सियल, हिमालयन, एनएमबीले ६ प्रतिशत ब्याजदर दिने घोषणा गर्दा एभरेष्ट र सानिमाले ५.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य, नबिल, सिटिजन्स र नेपाल बैंकले ५.५ प्रतिशत तथा सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिने भएको छ।

साथै नेपाल एसबीआई, इन्भेष्टमेन्ट मेगा र  कुमारीले ५.२५ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगतमा ५.२ र संस्थागतमा ५.४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले व्यक्तिगतमा ५.१३ प्रतिशत र संस्थागतमा ६.२६ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगतमा पाँच प्रतिशत र संस्थागतमा ५.५ प्रतिशतको ब्याजदर दिनेछ।

चालू आर्थिक वर्षको पहिलो महिनामा पनि बैंकिङ क्षेत्रबाट कर्जा प्रवाहमा उल्लेख्य सुधार देखिएको छैन। बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) थुप्रिएकाले परिचालन लागत कम गर्न उनीहरूले निक्षेपको ब्याजदर घटाउने रणनीति अपनाएका हुन्।

हाल बैंकहरूसँग करिब १० खर्ब रुपैयाँ बराबरको कर्जा लगानीयोग्य अतिरिक्त तरलता रहेको अनुमान छ। कर्जाको माग नबढेसम्म निक्षेपको ब्याजदर थप घट्न सक्ने बैंकरहरू बताउँछन्।

भदौ १, २०८२ आइतबार १३:००:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।