रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट बेन्च’, स्वर्णिमसँग वान-अन-वान वार्ता

रुपन्देही-३ उपनिर्वाचन : उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट बेन्च’, स्वर्णिमसँग वान-अन-वान वार्ता

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरू गरेको छ।

यसका लागि पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आज भैरहवामा नौ जना आकांक्षीसँग छलफल भइरहेको छ।

उम्मेदवार छनोटका लागि भैरहवास्थित रामादा होटलमा ‘क्यान्डिडेट बेन्च’ नामक विशेष छलफल आयोजना गरिएको हो, जहाँ निवेदन दिएका नौ जना उम्मेदवारका आकांक्षीहरू सहभागी छन्।

आकांक्षीहरूसँग प्यानलमा छलफल गर्न रास्वपाका सह-महामन्त्री विपिन आचार्य, प्रवक्ता एवं सांसद मनिष झा, सांसद एवं पूर्व शिक्षामन्त्री शिशिर खनाल र सांसद प्रा.डा. चन्दा कार्की रुपन्देहीमा उपस्थित छन्।

यसैगरी, पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले प्रत्येक निवेदकसँग छुट्टाछुट्टै (वान-अन-वान) छलफल गरिरहेका छन्।

पार्टी प्रवक्ता झाका अनुसार, यस प्रक्रियाको मुख्य उद्देश्य उम्मेदवारका आकांक्षीहरूको संविधान, देशको वर्तमान चुनौती, राजनीतिक परिवेश, स्थानीय मुद्दा, कानुनी प्रक्रिया, संसदीय अभ्यास तथा जनचासोका विषयहरूमा रहेको ज्ञान र बुझाइको मूल्यांकन गर्नु हो।

यही मूल्यांकनका आधारमा पार्टीले सबैभन्दा योग्य उम्मेदवार तय गर्ने जनाएको छ।

भदौ १, २०८२ आइतबार १२:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।