चोरी भएका ४१ मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण, तीन जना पक्राउ

चोरी भएका ४१ मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण, तीन जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

आइतबार कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन्।

कार्यालयमा परेका उजुरीका आधारमा खोजतलास गर्ने क्रममा ती सवारीसाधन फेला परेका थिए।

प्रहरीका अनुसार, केही सवारीसाधन वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा जगाती, थिमि, थली, काँडाघारी, नयाँ बानेश्वर, स्वयम्भू, गोकर्ण, कपन, बालाजु लगायतका स्थानबाट बरामद गरिएको थियो।

कार्यक्रममा सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए।

ट्राफिक प्रहरीले चोरीका दुईवटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाएको छ।

साउन महिनामा मात्रै ट्राफिक प्रहरीले ५२ वटा चोरीका सवारीसाधन फेला पारेर धनीलाई जिम्मा लगाइसकेको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा ४१७ वटा र चालू आर्थिक वर्ष २०८१/८२ सुरु भएयता ५०३ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गरेका छन्। साथै, मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि उनले अनुरोध गरे।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

भदौ १, २०८२ आइतबार १२:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।