चर्चित युट्युबर एल्विश यादवको घरमा दुई दर्जन गोली प्रहार

चर्चित युट्युबर एल्विश यादवको घरमा दुई दर्जन गोली प्रहार

एजेन्सी : चर्चित भारतीय युट्युबर तथा हालै टिभी शो ‘लाफ्टर शेफ्स’मा देखिएका एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान करिब ६ बजेको बताइएको छ।

घटनालगत्तै सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको छ। गोली चलेको समयमा एल्विश घरमा नभए पनि उनकी आमा र अर्का एक सहयोगी घरमा थिए।

प्रहरी स्रोतका अनुसार, आइतबार बिहान साढे ५ देखि ६ बजेको बीचमा मोटरसाइकलमा आएका तीन जनाले लगातार दुई दर्जनभन्दा बढी पटक गोली चलाएका थिए।

प्रहरीले आक्रमणकारीहरूको खोजी तीव्र पारेको छ र त्यसका लागि आसपासका सीसीटीभी फुटेजहरू जाँचिरहेको छ। अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।

एल्विश यादवभन्दा पहिले हालै गायक फाजिलपुरियामाथि पनि गोली प्रहार भएको थियो। यसबाहेक, चर्चित हास्य कलाकार कपिल शर्माको क्यानडास्थित ‘क्याप्स क्याफे’ बाहिर दुई पटक गोली चलेको थियो।

पहिलो आक्रमणको जिम्मेवारी खालिस्तानी आतंकवादी हरिजित सिंह लड्डीले लिएको थियो भने दोस्रो आक्रमणको जिम्मेवारी लरेन्स ग्याङको सदस्य बताउने ग्याङ्स्टर गोल्डी ढिल्लोंले लिएको थियो।

गोल्डीले सामाजिक सञ्जालमा पोस्ट गर्दै सलमान खानसँग काम गर्ने जो कोहीको पनि यही हालत हुने चेतावनी दिएको थियो। उक्त घटनापछि कपिल शर्माको सुरक्षा बढाइएको छ।

एल्विश यादव प्रायः विवादमा आइरहन्छन्। उनीमाथि एक रेभ पार्टीमा सर्पको विष (स्नेक भेनम) र अन्य लागूऔषध आपूर्ति तथा सेवन गरेको गम्भीर आरोप छ।

यद्यपि, हालै मात्र भारतको सर्वोच्च अदालतले यस मामिलामा कानुनी कारबाहीमाथि अन्तरिम रोक लगाउँदै उनलाई राहत दिएको छ।

यसबाहेक, यही वर्षको फेब्रुअरी १० मा एल्विशले एक रेस्टुरेन्टमा बसिरहेका युवकलाई थप्पड हानेको भिडियो भाइरल भएको थियो, जसले ठूलो विवाद निम्त्याएको थियो।

केही समयअघि मात्रै उनले ‘बिग बोस १८’की प्रतियोगी चुम दराङमाथि आपत्तिजनक टिप्पणी गरेर पनि विवादमा तानिएका थिए।

भदौ १, २०८२ आइतबार १०:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।