ऋषभ पन्त घाइते भएपछि बीसीसीआईद्वारा घरेलु क्रिकेटको नियम परिवर्तन

एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आगामी घरेलु सिजनका लागि प्लेइङ कन्डिसनमा महत्त्वपूर्ण परिवर्तन गर्दै चोटपटक लागेको खेलाडीको सट्टामा अर्को खेलाडी राख्न पाउने नियम लागू गरेको छ।
यस नियमअनुसार, यदि कुनै खेलाडी गम्भीर रूपमा घाइते भई खेल जारी राख्न नसक्ने अवस्थामा पुगेमा उसको ठाउँमा अर्को खेलाडीलाई मौका दिइनेछ। यो नियम एकभन्दा बढी दिनसम्म चल्ने घरेलु खेलहरूमा लागू हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेटमा हाल टाउकोमा चोट लागेको अवस्थामा मात्र खेलाडी प्रतिस्थापन गर्न पाइन्छ, जसलाई ‘कनकसन रिप्लेसमेन्ट’ भनिन्छ। तर, बीसीसीआईले भारतमा हुने घरेलु क्रिकेटका लागि अन्य गम्भीर चोटमा पनि खेलाडी प्रतिस्थापन गर्न अनुमति दिने निर्णय गरेको हो।
हालै भारत र इङ्ग्ल्यान्डबीच भएको टेस्ट शृङ्खलामा ऋषभ पन्त र क्रिस वोक्सजस्ता खेलाडीहरू घाइते भएका थिए। तर, अन्तर्राष्ट्रिय नियमअनुसार उनीहरूको स्थानमा अन्य खेलाडीलाई खेलाउन पाइएको थिएन।
के हो नयाँ नियम?
नयाँ नियमअनुसार, यदि कुनै खेलाडीलाई खेल चलिरहेको समयमा र मैदानभित्र गम्भीर चोट लागेमा मात्र प्रतिस्थापनको अनुमति दिइनेछ।
यस निर्णयमा विभिन्न खेलाडीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। इंग्लिस टेस्ट कप्तान बेन स्टोक्सले यसलाई ‘मजाक’को संज्ञा दिएका छन् भने भारतका पूर्व क्रिकेटर गौतम गम्भीरले यसको स्वागत गरेका छन्।
भारत-इङ्ग्ल्यान्ड शृङ्खलाको चौथो र पाँचौं टेस्टमा गम्भीर चोट लागेपछि ऋषभ पन्त र क्रिस वोक्सले खेलमा थप भाग लिन पाएका थिएनन्, जसले यस्तो नियमको आवश्यकतामाथि बहस सिर्जना गरेको थियो।
भदौ १, २०८२ आइतबार ०९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।