नाडा अटो शोमा देखाइने ‘फ्लाइङ ट्याक्सी’ काठमाडौं आइपुग्यो

काठमाडौं : यस वर्षको नाडा अटो शोमा पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ र अत्याधुनिक रोबोटहरू सार्वजनिक प्रदर्शनमा राखिने भएको छ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विभिन्न अवरोध र प्राकृतिक विपद्का चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटीका रूपमा हेरिएका यी उच्च प्रविधिहरू नेपाल भित्र्याएको हो।
नाडाले एक प्रेस विज्ञप्ति जारी गर्दै भविष्यको यातायातको प्रतीक मानिएको ‘डिपाल भक्ति फ्लाइङ ट्याक्सी’ र ‘युनिट्री रोबोट्स’ सुरक्षित रूपमा काठमाडौं आइपुगेको घोषणा गरेको छ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शोमा यी प्रविधिहरूलाई सर्वसाधारणले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्।
नाडाका महासचिव सुरेशकुमार उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यो संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ।’
नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेका यी प्रविधिहरूले अटोमोबाइल र प्रविधिको क्षेत्रमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ। नाडाले यस ऐतिहासिक क्षणको साक्षी बन्न सम्पूर्ण प्रविधिप्रेमी तथा सर्वसाधारणलाई अटो शोमा सहभागी हुन आह्वान गरेको छ।
भदौ १, २०८२ आइतबार ०९:२०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।