भगवती जात्रा अमूल्य सांस्कृतिक धरोहर : मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक भगवती जात्रा प्रदेशको अमूल्य सांस्कृतिक धरोहर भएको बताएका छन्।
जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसलाई पर्यटनसँग जोडेर अघि बढ्ने प्रदेश सरकारको योजना रहेको बताए।
नेपाल-अंग्रेज युद्ध (वि.सं. १८७१-७२) मा नेपाली सेनाले पाएको विजयको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा यो जात्रा मनाइन्छ।
तत्कालीन कर्णेल उजिरसिंह थापाले विजयपछि भगवती मन्दिर स्थापना गरी रथयात्राको परम्परा बसालेको ऐतिहासिक तथ्यलाई मुख्यमन्त्रीले आफ्नो सन्देशमा स्मरण गरेका छन्।
‘यो जात्राले केवल विजयको गौरव मात्र नभई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यसले आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै हाम्रा परम्परा र मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।’
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने योजनामा प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको छ। पाल्पाको भगवती जात्राजस्तो अमूल्य धरोहर यस अभियानको महत्वपूर्ण हिस्सा बन्न सक्छ।’
जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिएको छ।
भदौ १, २०८२ आइतबार ०८:५३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।