कनकाई घाटमा सवा दुई करोडको लागतमा विद्युतीय शवदाह गृह निर्माण, शवदहन ५० मिनेटमै

बनियानी : झापाको कनकाई नदी किनारमा करिब सवा दुई करोडको लागतमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ।
एक साताभित्र सञ्चालनमा आउने यो शवदाह गृहले दाउरा र समयको बचतसँगै वातावरण संरक्षणमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा कुल दुई करोड ३० लाख रुपैयाँको लागतमा कनकाई नगरपालिका-४ स्थित कन्काई घाटमा शवदाह गृह निर्माण भएको हो।
यसमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र दाताहरूबाट १० लाख रुपैयाँ लगानी रहेको छ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रदेश सरकारसँगको सम्झौताअनुसार नगरपालिकाले शवदाह गृह सञ्चालन गर्ने बताए।
‘शवदाह गृह सञ्चालनका लागि हामीले कार्यविधि बनाइसकेका छौँ,’ उनले भने, ‘एक साताभित्रै विधिवत रूपमा यसलाई सञ्चालनमा ल्याउने तयारी छ।’
कन्काई घाट व्यवस्थापन समितिका महासचिव गोपाल खरेलका अनुसार भारतीय प्राविधिक टोलीले निर्माणको काम सकेर फर्किसकेको छ।
गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिकाकी एक ८० वर्षीया महिलाको शव सफलतापूर्वक दहन गरिएको थियो।
‘विद्युतीय प्रणालीबाट एउटा शवदहन गर्न करिब ५० मिनेट लाग्छ, जबकि दाउरा प्रयोग गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने गरेको थियो’, खरेलले बताए।
२०६७ सालमा स्थापना भएको कनकाई घाटमा हाल पाँचवटा परम्परागत चितास्थल सञ्चालनमा छन्।
भदौ १, २०८२ आइतबार ०८:२२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।