गाजाका नागरिकलाई अमेरिकाले दिने भिजिटर भिसा स्थगित, घाइते बालबालिकाको उपचार प्रभावित हुने

गाजाका नागरिकलाई अमेरिकाले दिने भिजिटर भिसा स्थगित, घाइते बालबालिकाको उपचार प्रभावित हुने

एजेन्सी : अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै प्रकारका भिजिटर भिसा स्थगित गर्ने घोषणा गरेको छ।

मन्त्रालयले ‘अस्थायी उपचार र मानवीय आधारमा भिसा जारी गर्ने प्रक्रियाको गहन समीक्षा’ गर्नका लागि यो कदम चालिएको बताएको छ।

केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकाको यो निर्णयको कडा आलोचना गरेका छन्।

प्यालेस्टिनी चिल्ड्रेन्स रिलिफ फन्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो निर्णयले घाइते र गम्भीर रूपमा बिरामी बालबालिकालाई जीवन रक्षक उपचारका लागि गाजाबाट अमेरिका ल्याउने हाम्रो क्षमतामा घातक र गम्भीर असर पार्नेछ।’

अमेरिकी विदेश मन्त्रालयको नीतिमा यो परिवर्तन एक अति-दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले सामाजिक सञ्जाल ‘एक्स’मा भिसा कार्यक्रमको आलोचना गर्दै शृङ्खलाबद्ध पोस्ट गरेपछि आएको हो। उनले ट्रम्प प्रशासनलाई ‘यसलाई बन्द गर्न’ आग्रह गरेकी थिइन्।

प्यालेस्टिनी चिल्ड्रेन्स रिलिफ फन्डका अनुसार, संस्थाले आफ्नो विदेश उपचार कार्यक्रम अन्तर्गत सन् २०२४ मा गाजाबाट १६९ बालबालिकाको उद्धार गरी उनीहरूलाई उपचारका लागि मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका ल्याएको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका अधिकांश अस्पतालहरू ध्वस्त भएका छन्। त्यहाँका मानिसहरूले खाद्यान्नको चरम अभावको सामना गरिरहेका छन्।

भदौ १, २०८२ आइतबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।