सिपी भागेको जेलमा पुगे रवि, झडप र कैदी भाग्न बदनाम छ नख्खु

काठमाडौं : भैरहवामा अत्यधिक गर्मी र परिवारजनलाई भेट्न पनि समस्या भएको भन्दै दिएको निवेदन अनुसार रवि लामिछानेलाई शनिवार ललितपुरको नख्खु कारागार ल्याइयो।
रविले भैरहवाको कारागारबाट काठमाडौंको डिल्लीबजारमा सार्न निवेदन दिएका थिए। उनको निवेदन अनुसार कारागार सार्न ढिलाइ भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सरकारको ध्यानाकर्षण गराएको थियो।
अत्यधिक गर्मी र न्यूनतम् सुविधा समेत नदिई अलग्गै कोठामा राखेको दाबी सार्वजनिक भएसँगै उनको कोठामा एसीसहितको सुविधा रहेको तर हल्ला भएपछि निकालिएको प्रमाण सार्वजनिक भएको थियो।
प्रारम्भमा एसीबारे अस्वीकार गरेका जेलरले पछि बिग्रिएको एसीको भाग भित्र राखेको भनेर ढाँटेका थिए।
शनिवार रविलाई नेपालको सबैभन्दा पुरानो कारागारको सिआरसी ब्लकमा ४ सय २२ कैदीबन्दी सहित राखिएको छ। उनी त्यहाँ एक्लै नभई अन्य कैदी बन्दसँगै मिलेर बस्नु पर्ने छ।
टक्सारको रूपमा प्रयोग भएको भवनलाई पछि जेल बनाइएको हो। पञ्चायत कालमा माले नेता सिपी मैनाली, प्रदीप नेपालसहित सुरुङ खनेर भागेको जेल हो यो।
सन् २०१८ मा त्यही जेलबाट बेलायती नागरिक समेत भागेका थिए। काठमाडौं उपत्यकाका तीन जेलमध्ये यो पटक-पटक झडप भइरहने जेल हो।
२०७६ मा भएको झडपमा एक कैदीको मृत्यु नै भएको थियो। २०७८ भदौमा समेत नाइके र कैदीबीच झडप भएको थियो।
नख्खुको बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी रहेका छन्। कैदी-बन्दी बाहिर ल्याउने लैजाने काम नेपाल प्रहरीले गर्छन्।
साउन ३१, २०८२ शनिबार २२:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।