तलेजुको पूजा गरेसँगै सम्पन्न भयो भक्तपुरको परम्परागत गाईजात्रा

भक्तपुर : सात दिनसम्म विविध सांस्कृतिक प्रस्तुति र उत्सवमय वातावरणबीच चलेको यसवर्षको गाईजात्रा पर्व आज सम्पन्न भएको छ। साउन २५ गते जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी सुरु भएको भक्तपुरको गाईजात्रा आज पुनः तलेजु पूजा सम्पन्नसँगै विधिवत् समापन गरिएको हो।
गाईजात्राको पहिलो दिन घरघर र टोलटोलबाट दिवङ्गत आत्माको सम्झनामा गाईजात्रा निकाली घिन्ताङघिसी नाचलगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। त्यसयता सात दिनसम्म व्यङ्ग्यात्मक कार्यक्रम, लोकनृत्य र विभिन्न प्रस्तुति मार्फत पर्व निरन्तर मनाइयो। अन्तिम दिन आज घिन्ताङघिसी, हनुमान, माकप्याख, जङ्गली नाच, व्यङ्ग्यचित्र र प्ले कार्डसहितको जुलुसले सम्पूर्ण भक्तपुरलाई सांस्कृतिक उत्सवमा डुबाएको थियो।
यसपटक चाँगुनारायण नगरपालिका–२ ले पहिलो पटक समावेशी गाईजात्रा प्रदर्शन गरेको छ। वडाध्यक्ष सोम प्रधानका अनुसार सबै जातजाति र धर्मावलम्बी सहभागी भएको यो जुलुसलाई साझा सांस्कृतिक पर्वको रूपमा प्रस्तुत गरिएको हो। नेवार समुदायको परम्परागत पर्वलाई सबैमा अपनत्व दिलाउने र सांस्कृतिक आदानप्रदानलाई बलियो बनाउने उद्देश्यले यो प्रयास गरिएको उनले बताए।
घिन्ताङघिसी नाचसहितको समावेशी गाईजात्रा चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको संगमस्थल दुवाकोट मोडबाट सुरु भई टोलटोलमा प्रदर्शित गरिएको थियो। वडाध्यक्ष प्रधानका अनुसार यो अभ्यास आगामी वर्षहरूमा पनि निरन्तर गर्ने योजना छ।
गाईजात्रा पर्वको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीसँगै भक्तपुर नगरमा वाकुपति नारायणको विशेष आरती पनि सम्पन्न भएको छ। सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरबाट सुरु भएको आरती दत्तात्रय, शुकुलढोका, गोल्मढी, दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरिएको थियो।
गाईजात्रा पर्वको अन्तिम दिन एवं श्रीकृष्ण जन्माष्टमीको दिन आज भक्तपुर नगरपालिकाको सम्पदा क्षेत्रका भैरव मन्दिरमा नेवारी पोसाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर मन्दिरमन्दिरमा बत्ती बालेका छन् । बालबालिकादेखि युवासम्मले हात, काँध र शिरमा बत्ती बाल्दै नगरवासीलाई आरती दर्शन गराएका थिए। भक्तपुरमा बिस्केट जात्रा, गाईजात्रा जस्तै यो आरतीलाई पनि नगरकै प्रमुख धार्मिक-सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।
साउन ३१, २०८२ शनिबार २१:५५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।