चीनका उच्च कूटनीतिज्ञ वाङ सीमा विवादबारे वार्ता गर्न भारत भ्रमणमा जाँदै

एजेन्सी : चीनका उच्च कूटनीतिज्ञ वाङ यी भारत भ्रमणमा आउने भएका छन्। भारत-चीनबीचको सीमा विवादबारे वार्ता गर्न उनी आगामी सोमबार नयाँ दिल्ली पुग्नेछन्।
बेइजिङको विदेश मन्त्रालयले शनिबार जनाएको अनुसार वाङले दिल्लीको निमन्त्रणामा सोमबारदेखि बुधबारसम्म हुने चीन-भारत सीमा विवादसम्बन्धी २४औँ विशेष प्रतिनिधि स्तरको बैठकमा सहभागी हुनेछन्।
भारतीय सञ्चारमाध्यमका अनुसार वाङले सोमबारै नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नेछन्। यसअघि भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले गत जुलाईमा बेइजिङ भ्रमण गर्दा उनीहरूमध्ये भेटवार्ता भएको थियो।
सन् २०२० मा गलवान उपत्यकामा भएको भीषण झडपपछि दुई देशबीचको प्रत्यक्ष व्यापार र सम्बन्धमा चिसोपन आएको थियो। तर हालैका हप्ताहरूमा दुवै पक्षले सीमा व्यापार पुनः सुरु गर्ने, सिधा उडान र पर्यटक भिसा पुनः जारी गर्ने विषयमा छलफल अघि बढाएका छन्।
चीन र भारत दुवै दक्षिण एसियामा प्रभाव जमाउने प्रतिस्पर्धामा रहेका भए पनि हाल विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबीच सम्बन्ध सुधारतर्फ लागिपरेको देखिन्छ।
यसपटकको उच्चस्तरीय वार्तालाई दुई छिमेकी मुलुकबीच सम्बन्ध पुनर्निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
साउन ३१, २०८२ शनिबार २१:१९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।