टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौं : टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। डार्विनको मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग ३२ रनले पराजित भयो।
बंगलादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो। नेपालका मिडलअर्डर ब्याटर कुशल मल्लले ४७ बलमा अविजित ५९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका लागि ओपनर कुशल भुर्तेल १२ रनमा, लोकेश बम ५ रनमा, रोहित पौडेल १० रनमा र आसिफ शेख २८ रनमा आउट भए। मध्यान्तरमा दीपेन्द्र सिंह ऐरी र गुल्सन झा दुवै लगातार डेलिभरीमा एलबीडब्ल्यू भए। करण केसी ७ बलमा ६ रनमा आउट भए भने अन्त्यतिर नन्दन यादवले ९ बलमा १४ रन अविजित रहँदै कुशलसँग ४७ रनको साझेदारी गरे।
बंगलादेश ‘ए’ का बलर रकिबुल हसनले सर्वाधिक ३ विकेट लिए भने हसन महमुदले २ तथा रिपोन मण्डल र टोफेल अहमदले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो। ओपनर जिसन आलमले ४५ बलमा सर्वाधिक ७१ रन बनाए। अफिफ होसिन ४८ रनमा अविजित रहे भने अन्य खेलाडीहरू छोटो योगदानमै आउट भए।
नेपालका लागि रिजन ढकालले २ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट लिए।
नेपाल यसअघि पहिलो खेलमा नर्थन टेरिटोरि स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। अब नेपालले सोमबार साँझ ७ः१५ मा मेलबोर्न स्टार्ससँग तेस्रो खेल खेल्नेछ।
साउन ३१, २०८२ शनिबार १९:३२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।