समर्थकको भिडलाई छल्दै रविलाई नक्खु कारागार पुर्याइयो

समर्थकको भिडलाई छल्दै रविलाई नक्खु कारागार पुर्याइयो

काठमाडौं : कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ। 

शनिबार साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए।

कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो। उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो। सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको जोशीले बताए।  

सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो। लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए।

भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ।  

साउन ३१, २०८२ शनिबार १८:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।