डा. सुनीलको उपचार अनुभव : ५० वर्षे व्यापारीले आत्महत्या गरेको त्यो खबर

डा. सुनीलको उपचार अनुभव : ५० वर्षे व्यापारीले आत्महत्या गरेको त्यो खबर

मनोचिकित्सक डा. सुनील कुमार साहको चिकित्सकीय विधा नै व्यक्तिको मन पढ्ने हो। उनले व्यक्तिको मन पढेर समस्या देखिए त्यही अनुसारको उपचार विधि अपनाउँछन्। डा. सुनीलले उपचार गरेकामध्ये अधिकांश बिरामी सञ्चो भएका छन्। तर, उनले उपचार गरेकामध्ये कतिपय बिरामीले आत्महत्यासम्मको बाटो रोजेका छन्। उनै मनोचिकित्सक डा. सुनीलले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्:

५० वर्षे व्यापारीले आत्महत्या गरेको त्यो खबर

घटना केही वर्ष अघिको हो। लेखपढ गरेका एक जना करिब ५० वर्षका पुरुष व्यापारीको मन गडबड भएछ। उनलाई निन्द्रा नलाग्ने, मनमा धेरै कुरा खेल्ने, तनाव हुने, चिटचिटाहट हुने, ‘ओहो! मेरा कुरा अरु कसैले थाहा पाए भने कसरी मुख देखाउने होला!’ भन्ने जस्ता समस्याका लक्षण देखिएछ। यस्ता तनावजन्य समस्या भएपछि ती व्यापारी मनोपरामर्शकालागि डा. सुनील कहाँ पुगे।

ती पुरुष घरमा कसैलाई थाहा नदिई एक्लै मनोचिकित्सकसम्म पुगेका थिए। ‘आफूलाई’ मानसिक समस्या भएकोबारे परिवार र समाजले थाहा पाए भने ‘बौलाहा’ भन्छन् अनि बेइज्जत हुन्छ भन्ने डर थियो, उनलाई। त्यसैले ती पुरुष सुटुक्क मनोचिकित्सकलाई भेट्न गएका थिए।

उनी उपचारका लागि काठमाडौंमा गएका रहेछन्। तर, डा. सुनील चितवनमा भएकाले फलोअपमा सजिलो हुन्छ भनेर एक जना सिनियर चिकित्सकले उनीकहाँ पठाइदिएका थिए। अनि ती व्यापारी उनीकहाँ पुगेका रहेछन्।

डा. सुनीलले ती व्यापारिको मन पढे। अनि उपचार प्रक्रिया थाले। मानसिक समस्या भएका ती व्यापारी पुरुषमा आत्महत्या गर्नसक्ने केही लक्षणहरू समेत देखिएका थिए।

त्यसैले उनलाई फलोअपमा आउँदा श्रीमती वा छोराछोरीलाई पनि ल्याउन अनुरोध गरे। तर, ती पुरुषले परिवारका सदस्यलाई ल्याउन नै मानेनछन्।

परिवारका सदस्यलाई ल्याउन नमानेपछि डा. सुनीलले ती पुरुषलाई आफूकहाँ पठाइदिने चिकित्सकलाई पनि खबर गरेर ती पुरुषमा आत्महत्याको लक्षण देखिएको जानकारी गराए। अनि परिवारसँग सम्पर्क भए खबर गरिदिन अनुरोध गरे। 
तर, घरपरिवारमा खबर गर्न सम्भव भएन छ। ती पुरुष केही समयपछि डा. सुनीलसँग उपचारका लागि फलोअपमा पुग्न छाडेछन्।

एक दिन ती पुरुषलाई आफूकहाँ उपचारका लागि पठाइदिने चिकित्सकले म्यासेज गरेर ‘मैले तपाइकहाँ पठाइदिएको ती पुरुषले आत्महत्या गरेछन्’ भनेछन्। ती पुरुषले आफ्नै ‘अफिस’मा आत्महत्या गरेको उनले सुने।

आफूले उपचार गरेको बिरामीले आत्महत्या गरेको खबर सुन्दा डा. सुनीलको मन भारी भयो। केही बेर उनको मनमा पनि निरासा छायो। उनले सोचे,‘ती व्यापारी पुरुषमा मानसिक समस्या छ भन्ने परिवारले थाहा पाएको भए उनी आत्महत्या गर्नबाट जोगिन सक्थे।’ 

त्यसैले कोही व्यक्तिलाई मानसिक समस्या भएको छ भने परिवारका सदस्यले हेलचेक्राई गर्न नहुने डा. सुनीलको सुझाव छ। सामूहिक कोसिसले आत्महत्या गर्नबाट बचाउन सकिने उनले सुनाए।

छोडपत्र गर्न ठिक्क परेकी ती महिलाका श्रीमानको मानसिक समस्या ठिक भएपछि...

मानसिक समस्याले निम्तिएको कलहका कारण ‘छोडपत्र गर्ने’ भन्दै परामर्शका लागि पुग्ने बिरामीको चाप पनि बाक्लै हुने गरेको डा. सुनीलले सुनाए। यस्तै एउटा घटना सुनाए उनले।

घटना केही वर्ष अघिको हो। करिब ४५ वर्षका पुरुष अनि करिब ३८ वर्षकी महिलालाई परिवार तथा आफन्तले डा. सुनीलकहाँ पुर्याएछन्। उनीहरू छोडपत्रको चरणमा पुगेपछि परिवार तथा आफन्तले ती पुरुष र महिलालाई कतै मानसिक समस्या पो छ की भनेर मनोपरामर्शका लागि अस्पताल पुर्याएका रहेछन्।

सोधबुझ तथा चेकजाँच गर्दै जाँदा अस्पताल पुर्याइएका ती पुरुषको मानसिक अवस्था अस्वभाविक रुपमा रहेको डा. सुनीलले थाहा पाइहाले। श्रीमतीको मानसिक अवस्था सामान्य नै थियो। अस्पताल पुर्याइएका ती श्रीमान-श्रीमती मिल्न नसकेर छोडपत्र गर्ने तयारीमा पुगेको बारे पनि उनले थाहा पाए।

ती महिलाले डा. सुनीलसँग ‘हाम्रो कुरा मिल्दैन, हामी सँगै बस्न सक्दैनौँ, अब डिभोर्स गर्ने हो डाक्टरसाप’ भनिछन्। 
ती महिलाका श्रीमान नियमित रुपमा अत्याधिक रक्सी सेवन गर्ने अनि घरमा गएर श्रीमतीसँग झगडा गर्दा रहेछन्।

श्रीमतीलाई परपुरुषसँग लसपस गरेको भन्दै अनावश्यक शंका गर्दा रहेछन्। ती पुरुष ‘तँ फलानोसँग लागिस्। त्यहीसँग पोइला जान लागेकीछेस्’ भन्दै अनावश्यक रुपमा श्रीमतीलाई शंका गरेर झगडा गर्दा रहेछन्।

 आफ्नो गल्ती नै नहुँदा समेत श्रीमानको रातदिनको कचकच र झगडाले श्रीमती आक्रान्त बनिसकेकी थिइन्। उनीहरुका छोराछोरी पनि थिए। तर, ‘यो सँग बस्नु भन्दा त बरु कि छोड्छु या म मर्छु’ भन्ने सोचमा पुगेकी थिइन ती पुरुषकी श्रीमती। श्रीमान श्रीमती नै एकअर्कासँग नबस्ने र छोडपत्र नै गर्ने अन्तिम चरणमा पुगिसकेका थिए। तर, श्रीमानलाई मानसिक समस्या भएका कारण त्यसरी झैझगडा भएको हो भन्ने विषय भने ती महिलालाई थाहा थिएन।

डा. सुनीलले मन पढेपछि ती पुरुषमा रक्सी सेवन अनि ‘शंका गर्ने’ मानसिक समस्याका कारण कलहको समस्या भएको थाहा भयो। यसरी अनावश्यक संका गर्ने भ्रमात्मक मानसिक समस्यालाई मनोचिकित्सकीय भाषामा ‘डिल्युजन डिस्अर्डर-साइकोसिस’ भनिन्छ।

यस्तो मानसिक समस्या भएका व्यक्तिमा ‘मेरो विरुद्ध दुस्मन लागिरहेका छन्, म विरुद्ध षडयन्त्र भइरहेको छ, मलाई घेराबन्दी भइरहेको छ, मेरो विरुद्धमा राजनीति षडयन्त्र भइरहेको छ’ भन्नेजस्ता भ्रामक सोच आउने डा. सुनीलले बताए। ती पुरुषमा यस्तै समस्या भएका थियो।

श्रीमानलाई मानसिक समस्याका कारण घरमा कलह भएको विषयबारे डा. सुनीलले ती महिलालाई राम्रोसँग सम्झाए। अनि उनले श्रीमानको समस्या ठिक हुने विश्वास दिलाएर ‘छोडपत्र नगर्न’ अनुरोध गरे। डा. सुनीलले ती पुरुषको मानसिक समस्याको औषधि उपचार सुरु गरे।

श्रीमान सुध्रिने कुरामा ती महिला खासै विश्वस्त भइहालेकी थिइनन्। ‘छोडपत्र’ गर्ने नै सोचमा थिइनन्। तर, चिकित्सकले भनेपछि केही समय हेरौं न त भन्ने सोचमा पुगिन्, ती महिला पनि।

नभन्दै उपचार सुरु भएपछि ती पुरुषको मानसिक स्वास्थ्यमा सुधार हुँदै गयो। ती पुरुषले रक्सी पनि पिउन छोड्दै गए। श्रीमतीलाई शंका गर्ने रोग कम हुँदै गयो। उपचार थालेको करिब डेढ महिनामा त ती पुरुषको मानसिक अवस्थामा निक्कै सुधार भइहाल्यो।

मानसिक समस्यामा सुधार भएपछि ती पुरुष राम्रोसँग निदाउन थाले। उनको दैनिकी सामान्य अवस्थामा फर्किँदै गयो। रोगको कारण समस्या भएको रहेछ भन्ने दुवैलाई थाहा भयो। मानसिक समस्यामा ठिक हुँदै गएपछि श्रीमान–श्रीमतीको सम्बन्ध पहिलेको जस्तै सुमधुर बन्दै गयो। उपचारपछि त छोडपत्र गर्न तयारी अवस्थामा पुगेका ती श्रीमान र श्रीमतीको मेलमिलाप भइहाल्यो।

ती पुरुष पछिसम्म फलोअपमा आएको र समस्या पूर्ण रुपमा ठिक भएका डा. सुनीलले सुनाए।

धोएको लुगा फोहोर भयो भन्ठानेर बारम्बार धुनुपर्ने मानसिक रोग लागेकी ती महिला

मानसिक समस्या विचित्रका हुन्छन्। उपचार गरेकामध्ये यस्तै विचित्रको मानसिक समस्याको एउटा घटना सम्झिरहन्छन्, डा. सुनील।

घटना केही वर्ष अघिको हो। करिब ३२ वर्षकी एक जना महिलालाई डा. सुनीलकहाँ मनोपरामर्शका लागि पुर्याइयो। ती युवतीमा अलि अनौठो किसिमको मानसिक समस्याको लक्षण थियो। ती महिलाका श्रीमान सरकारी जागिरे रहेछन्। श्रीमतीले अनौठो व्यवहार देखाउन थालेपछि श्रीमानले मनोपरामर्शका लागि डा. सुनीलकहाँ पुर्याएका रहेछन्।

ती महिला धोएर सुकाएको लुका कसैले छोइदियो भने फेरी धुन थालिहाल्थिइन्। घर बाहिरको कोही व्यक्ति उनको घरमा पुगेर ओछ्यानमा बस्यो भने त्यो लुगा उठाएर धोइहाल्थिइन्। एउटै लुगा पटक पटक पखाल्थिइन्। उनको मनमा फोहोर र घृणाको कुरा आइरहन्थ्यो। कसैले केही छोयो की ती महिला सफा गरिहल्थिन्। ती महिलालाई जे पनि घिन लाग्थ्यो। उनले कपडा धोएको धोइ गर्थिन्। घर अनि बस्ने ठाउँ पुछेको पुछ्यै गर्थिइन्। ती महिलाको सरसफाईको त्यो अवस्था स्वभाविक थिएनन्। हात धोएकोधोइ गर्थिन्। डर लाग्ने, निन्द्रा नलाग्ने जस्ता समस्या थिए, उनमा। ती महिलाका अस्वाभाविक व्यवहार थिए। घरको मान्छेले ‘के गरेको? कति लुगा धोइरहेकी? काम पाइनस्?’ भन्दा ती महिला रिसले चुर हुन्थिइन्। निन्द्रा लाग्दैन थियो। ती महिलाको दैनिकी नै बेचैन बनेको थियो।

लक्षणका आधारमा ती महिलालाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसिडी)’ मानसिक समस्या भएको डा. सुनीलले खुट्याए। 

‘ओसिडी’को समस्या भएको व्यक्तिमा बारम्बार एउटै कुराको अनावश्यक सोच आउनुकासाथै डर भइरहन्छ। 
यसरी एउटै विषयको सोच अस्वाभाविक रुपमा बारम्बार दोहोरिएर व्यक्तिको दैनिक जीवनमा नै नकारात्मक असर पर्ने समस्यालाई मनोचिकित्सकीय भाषामा ‘ओसिडी’ भनिन्छ। 

ती महिलालाई पनि बारम्बार ‘फोहोर भयो, सफा गर्नुपर्छ’ भन्ने अस्वाभाविक सोच आउने ‘ओसिडी’ मानसिक समस्या भएको रहेछ।

समस्या पहिचान गरेपछि डा. सुनीलले मानसिक समस्याको लक्षण अनुसारको औषधि उपचार सुरु गरे। अहिले ती महिलाको मानसिक स्वास्थ्य अवस्था ठिक हुँदै गएको उनले सुनाए।

‘संसारकै ठूलो मान्छे हुँ’ भन्ठान्ने समस्या

त्यसैगरी धेरै बोल्ने, यो संसारमा म जतिको बाठो कोही छैन भन्ने, जिद्दी गर्ने, म नै शिवजी हुँ, मनै भगवान हुँ भन्ठान्ने, जे पनि जानेको जस्तो गरेर अरुलाई पढाउने जस्ता ‘बाइपोलार मुड डिस्अर्डर’को मानसिक समस्या लिएर पनि उपचारका लागि मनोचिकित्सककहाँ पुग्ने बिरामीको संख्या बाक्लै हुने गरेको डा. सुनीलले सुनाए।

व्यक्तिमा बिहानै उठेर हिँड्ने, दौडने, अस्वाभाविक आत्मबल देखाउने जस्ता ‘बाइपोलार मुड डिस्अर्डर’को समस्या हुने उनले सुनाए। यस्तो समस्या भएको व्यक्तिले हँसाउने, लाजै नमान्ने, आत्मबल देखाउने, विपरित लिंगीलाई छोइहाल्ने जस्ता व्यवहार देखाउने उनले सुनाए।

त्यसैगरी नलजाई नाच्ने, गाउने, कविता भनिहाल्ने, नडराउने, पढ्दै नपढेको व्यक्ति पनि ‘म त पढेको विद्वान हो’ भन्ने जस्ता व्यवहार देखाउँदा सुरुमा त अन्य व्यक्तिले पनि ‘कस्तो रमाइलो अनि क्षमतावान मान्छे भन्दै रमाइलो मान्ने’ गरेको उनले सुनाए। तर, बेलैमा उपचार नपाए यस्तो अस्वाभाविक व्यवहार बढ्दै जाँदा मानसिक समस्या जटिल हुँदै जानसक्ने डा. सुनीलले सुनाए। 

धनुषमा जन्म, चितवनमा पढाइ
सुनील २०३६ मा धुनषाको हालको लक्ष्मीनिया गाउँपालिकामा जन्मिएका हुन्। उनका बुवा शिक्षक हुन्। बुवा चितवनको रामपुर कृषि क्याम्पसमा पढाउँथे। त्यसैले सुनीलको बाल्यकाल पनि बुवाआमासँग चितवनमा नै बित्यो।

सुनीलले चितवनकै कमलदेवी आवासीय माध्यामिक विद्यालयबाट एसएलसी गरे। उनले त्यहीँको वीरेन्द्र बहुमुखी क्याम्पसबाट आइस्सी गरे।

 सानैदेखि अध्ययनमा असाध्यै मेहनती सुनीलले डाक्टर बन्ने सपना देखे। उनले त्यही अनुसार मेहनत गरे। एमबीबीएसको लागि छनोट परीक्षा दिए। उनी छनोट मात्रै भएनन्, सरकारी छात्रवृति कोटामा नै एमबीबीएस अध्ययनका लागि छानिए। 
अनि सन् १९९९ मा चितवनको भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्सेस’मा भर्ना भएर उनी एमबीबीएस पढ्न थाले। सन् २००४ मा इन्टर्नसिप सहित सुनीलको एमीबीएस अध्ययन सकियो। 

त्यसपछि एमबीबीएस पढेकै मेडिकल कलेजमा मेडिकल अधिकृतका रुपमा उनले करिब एक वर्ष काम गरे। अन्य केही अस्पतालमा पनि काम गरे। 

छात्रवृत्तिमा नै मन पढ्ने विषयको अध्ययन

अध्ययनमा अब्बल डा. सुनीलले थप अध्ययन पनि गरिहाल्ने सोच बनाए। उनले सोच मात्रै बनाएनन्, छनोट परीक्षाको तयारी पनि गरिहाले। 

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। उनी अध्ययनका लागि छनोट पनि भइहाले। त्यो पनि सरकारी छात्रवृत्ति कोटामा नै।

छनोटपछि डा. सुनील सन् २००६ मा महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भएर स्नातकोत्तर तहको ‘मनोचिकित्सा’ विषयमा एमडि अध्ययन थाले। उनले यही नै विषय पढ्छु भनेर छनोट गरेका हैन रहेछन्। तर, उनको सोच जुन विषय भएपनि छात्रवृत्ति कोटामा नै पढ्नुपर्छ भन्ने रहेछ। उनले त्यही अनुसार मेहनत गरे। अनि एमडी पनि छात्रवृत्ति कोटामा नै पढ्ने अवसर पाए।

सन् २००९ मा डा. सुनीलको एमडी अध्ययन पूरा भयो। अनि बिरामीको मन पढ्ने यो विषयमा नै उनी रमाए।

सरकारी जागिरमा प्रवेश

मनोचिकित्सा विषयमा एमडी अध्ययन गरेपछि डा. सुनील कामका लागि चितवनकै ‘कलेज अफ मेडिकल साइन्सेस’मा पुगेर लेक्चररका रुपमा काम गर्न थाले। जहाँ उनले एमबीबीएस अध्ययन गरेका थिए। त्यहाँ उनले सन् २०१३ सम्म करिब चार वर्ष काम गरे। 

त्यसपछि डा. सुनील लोकसेवा परीक्षामार्फत २०७० मा नवौं तहको ‘कन्सल्टेन्ट साइक्याट्री’का रुपमा सरकारी स्थायी जागिरमा प्रवेश गरे।

सरकारी जागिरमा प्रवेश गरेपछि उनी पहिलो पोष्टिङ भएर तत्कालीन जनकपुर अञ्चल अस्पतालमा पुगे। जनकपुरमा केही महिना काम गरेपछि डा. सुनील सरुवा भएर चितवनको भरतपुर अस्पताल पुगे। त्यहाँ केही वर्ष काम गरेपछि उनी सरुवा भएर २०७४ मा ललितपुरको लगनखेलस्थित मानसिक अस्पताल पुगे। त्यहाँ उनले केही महिना काम गरे।

 लगनखेलमा काम गर्दा नै डा. सुनील कर्मचारी समायोजनको क्रममा संघ अन्तर्गत समायोजन भएर २०७५ मा चितवनको भरतपुर अस्पताल पोष्टिङ भए। त्यसयता उनी भरतपुर अस्पतालमा नै कार्यरत छन्। 

डा. सुनील दशौं हुँदै साढे चार वर्ष अघि ११औं तहको प्रमुख कन्सल्टेन्ट साइक्याट्रीकारुपमा बढुवा भएका छन्। लगनखेलमा दरबन्दी भए पनि उपत्यका बाहिर बसेर बिरामीको औषधि उपचारमा नै खटिनु उचित ठानेकाले काजमा भरतपुरमा नै  काम गरेको उनले सुनाए। २०७४ देखि २०७८ सम्म नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा समेत उनले काम गरे।

डा. सुनील चितवनमा बसेर मनको गडबढी भएका बिरामीको मन पढेर समस्याको पहिचान गरी औषधि उपचार तथा परामर्शमा नै रमाएका छन्।

साउन ३१, २०८२ शनिबार १९:०७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।