रविलाई काठमाडौं पठाइयो

रविलाई काठमाडौं पठाइयो

बुटवल : सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं पठाइएको छ। 

उनलाई बुद्ध एयरको विमान मार्फत काठमाडौं लगिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए। रुपन्देही कारागारमै रहँदा उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए।

अदालतले जेठ १६ गते अनुमति दिएको थियो। तर, उनको सरुवालाई गृहमन्त्री रमेश लेखकले रोकेको आरोप लाग्दै आएको थियो। सबै निकायबाट सरुवाका लागि अनुमति पाएपनि उनको सरुवा नभएको भन्दै सरकारको आलोचना भएको थियो। गत साता मात्र मानव अधिकार आयोगको टोलीले पनि लामिछानेको सरुवा नहुनु गम्भीर विषय भएको बताएको थियो।

त्यसपछि शुक्रबार मात्र सरकारले उनलाई भैरहवाबाट काठमाडौं लैजाने निर्णय गरेको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौं लैजान तयार भएको हो। १ सय २६ दिन रुपन्देही कारागारमा बसेका लामिछानेलाई अब नक्खु कारागारमा राखिने छ।

साउन ३१, २०८२ शनिबार १६:४४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।