पुटिनसँगको वार्ता विवरण ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर सुनाए, वाशिङटन आउन निम्तो

पुटिनसँगको वार्ता विवरण ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर सुनाए, वाशिङटन आउन निम्तो

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काबाट वाशिङटन फर्किने क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग 'लामो टेलिफोन वार्ता' गरेका छन्। यसपछि उनले नाटो नेताहरूसँग पनि छलफल गरेको बताइएको छ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले जेलेन्स्कीलाई शनिबार भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको महत्वपूर्ण बैठकबारे जानकारी दिएका हुन्।

जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पलाई वाशिङटनमा भेट गर्न निमन्त्रणा दिएकोमा धन्यवाद दिएका छन्। उनले लेखेका छन्, 'राष्ट्रपति ट्रम्पसँग लामो र महत्वपूर्ण संवाद भयो। उहाँले रुसी नेतासँगको भेटवार्ता र छलफलका मुख्य बुँदाबारे जानकारी गराउनुभयो। अमेरिकाको शक्तिले परिस्थितिको विकासमा प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण छ।'

यसअघि अलास्कामा सम्पन्न उच्चस्तरीय बैठकपछि ट्रम्पले पुटिन र जेलेन्स्की दुवैले आफूलाई छलफलमा सहभागी गराउन चाहेको बताएका थिए। उनले भनेका थिए, 'म त्यहाँ हुनेछु।'

ट्रम्पको उक्त भनाइलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिका, युक्रेन र रूसबीच त्रिपक्षीय बैठकको प्रस्तावलाई समर्थन गरेको बताएका छन्।

साउन ३१, २०८२ शनिबार १५:५४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।