तलब वृद्धिको माग गर्दै एयर क्यानडाका १० हजार उडान सहायक आन्दोलनमा, सेवा ठप्प

एजेन्सी : एयर क्यानडा व्यवस्थापन र उडान सहायकहरूको प्रतिनिधित्व गर्ने युनियनबीच भएको अन्तिम चरणको वार्ता असफल भएपछि करिब १० हजार उडान सहायकहरू राष्ट्रव्यापी हडतालमा उत्रिएका छन्।
पारिश्रमिक वृद्धि र कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबार बिहानैदेखि सुरु भएको हडतालका कारण क्यानडाको हवाई यातायात पूर्ण रूपमा प्रभावित भएको छ।
एयर क्यानडाले आफ्ना सबै उडानहरू स्थगित गरेको छ, जसका कारण हजारौं यात्रुहरू विमानस्थल र गन्तव्यहरूमा अलपत्र परेका छन्।
क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ) ले शनिबार बिहान १२:५८ बजेदेखि आधिकारिक रूपमा हडताल सुरु भएको घोषणा गरेको हो।
युनियनका अनुसार, मुख्य विवाद यात्रुहरू विमानमा चढ्दा र तयारीका क्रममा गरिने कामको पारिश्रमिक नदिइने कम्पनीको पुरानो नीतिमा केन्द्रित छ। युनियनले यो अवैतनिक कामलाई श्रम शोषणको संज्ञा दिँदै तत्काल अन्त्य गर्न माग गरेको छ।
यसका साथै, बढ्दो मुद्रास्फीति र महँगीले जीवनयापन कष्टकर बनेको भन्दै सोहीअनुसार तलब समायोजन हुनुपर्ने उनीहरूको अर्को प्रमुख माग हो।
‘एयर क्यानडाले प्रस्तुत गरेको प्रस्ताव हालको महँगी दरभन्दा निकै कम छ, जसले हाम्रा सदस्यहरूको परिश्रमको अवमूल्यन गर्छ’, युनियनका एक प्रतिनिधिले बताए।
हडतालको घोषणासँगै एयर क्यानडाले शुक्रबार साँझसम्म ६२३ वटा उडान रद्द गरिसकेको थियो। शनिबारका लागि निर्धारित सम्पूर्ण ७०० उडानहरू पनि रद्द गरिएका छन्।
कम्पनीले एक सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थल नआउन र आफ्नो उडानको अवस्थाबारे अनलाइन जाँच गर्न आग्रह गरेको छ।
यो आकस्मिक हडतालले छुट्टी मनाउन हिँडेका परिवार, व्यापारिक यात्री र अत्यावश्यक कामले यात्रा गरिरहेका हजारौं मानिसहरू प्रभावित भएका छन्।
विमानस्थलहरूमा अन्योल र आक्रोशको वातावरण देखिएको छ भने यात्रुहरूले वैकल्पिक उडान वा फिर्ता रकमका लागि संघर्ष गरिरहेका छन्।
हवाई सेवा अवरुद्ध हुँदा यसको असर क्यानडाको अर्थतन्त्रमा बहुआयामिक हुने देखिएको छ। यातायात विशेषज्ञहरूले यो हडताल लामो समयसम्म नचल्ने अनुमान गरे पनि यसको तत्काल प्रभाव पर्यटन, व्यापार र आपूर्ति प्रणालीमा देखिन थालेको छ।
क्यानाडियन चेम्बर अफ कमर्सले हवाई यातायात ठप्प हुँदा सामान ढुवानी र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ। यदि हडताल लम्बियो भने यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनीसमेत दिइएको छ।
साउन ३१, २०८२ शनिबार १४:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।