पाकिस्तानको खैबर पख्तुनख्वामा वर्षा र बाढी, ३०० भन्दा बढीको मृत्यु

एजेन्सी : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा वर्षा र बाढीका कारण धेरै क्षति भएको छ।
पछिल्लो ४८ घण्टामा प्रान्तका विभिन्न जिल्लाहरूमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ३०७ भन्दा बढी पुगेको छ र २३ जना घाइते भएको खैबर पख्तुनख्वा विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले जनाएका छन्।
पीडीएमएका अनुसार मृत्यु हुनेमा २७९ पुरुष, १५ महिला र १३ बालबालिका छन् भने घाइतेमा १७ पुरुष, ४ महिला र दुई बालबालिका छन्।
पीडीएमएको प्रतिवेदन अनुसार, ‘वर्षा र आकस्मिक बाढीका कारण अहिलेसम्म जम्मा ७४ घर क्षतिग्रस्त भएका छन्। यीमध्ये ६३ घर आंशिक रूपमा नष्ट भएका छन् भने ११ घर पूर्ण रूपमा नष्ट भएका छन्।’
बाढीका कारण स्वात, बुनेर, बाजौर, तोरघर, मानसेरा, साङ्ला र बट्टग्राम नराम्ररी प्रभावित भएका छन्।
सबैभन्दा बढी क्षति बुनेरमा भएको छ। यहाँ अहिलेसम्म १८४ जनाको मृत्यु भइसकेको छ।
साउन ३१, २०८२ शनिबार १३:४२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।