‘कुनै समय निर्माताहरूका लागि जोखिम थिएँ म, त्यसैले मुख्य भूमिकाका लागि हतार गरिनँ’

अधिकांश फिल्ममा सहायक कलाकारको रूपमा देखिने अभिनेता विजय बरालको परिचय पछिल्लो समय बदलिएको छ। उनले अभिनय गरेको पहिलो फिल्म ‘छड्के’ देखि गत महिना प्रदर्शनमा आएको ‘यो मन त मेरो नेपाली’ सम्म आइपुग्दा उनी प्रायः सहायक पात्रकै भूमिकामा देखिए।
तर, गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले उनको करियरमा नयाँ मोड ल्याइदियो। यस फिल्ममा उनले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा मात्र भएन, फिल्मले व्यावसायिक रूपमा समेत ठूलो सफलता हासिल गर्यो।
यही फिल्मपछि उनको परिचय ‘पूर्ण बहादुर’कै रूपमा स्थापित भयो र उनी एकाएक सर्वाधिक खोजिने र सफल अभिनेताको सूचीमा दरिए। कुनै बेला सहायक भूमिकाका लागि उनलाई सम्झिने निर्माता-निर्देशकहरू अब मुख्य भूमिकाकै लागि स्क्रिप्ट पठाउन थालेका छन्।
यही क्रममा उनले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ र ‘जारी २’ जस्ता प्रतीक्षित फिल्ममा काम गर्ने मौका पाए। हाल उनी आफ्नो मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को प्रदर्शनको तयारीमा छन्, जुन आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ। यिनै अभिनेता विजय बरालसँग उकेराकर्मी भोला अधिकारी गरेको कुराकानीको सम्पादित अंश:
‘पूर्ण बहादुरको सारङ्गी’ मा तपाईंले एक्लै फिल्म बोकेको देखियो। यो कत्तिको भारी हुँदो रहेछ?
तपाईंले ‘एक्लै’ भनिदिँदा मेरो मन सिरिङ्ग हुन्छ, डर लाग्छ। साँच्चै भन्नुपर्दा, मैले एक्लैले त्यो फिल्म बोकेकै होइन। फिल्म बनाउने प्रक्रियामा लेखकदेखि, निर्देशक, सह-कलाकार र प्राविधिकसम्म सबैको उत्तिकै पसिना बगेको हुन्छ। हामी सबैले मिलेर त्यो भारी उचालेका थियौँ।
तर, फिल्म सफल भएपछि दर्शक र मिडियाले प्रेमपूर्वक सबै जस मलाई दिनुभयो, जसलाई मैले शिरोपर गरेँ। मैले सामाजिक सञ्जालमा पनि भनेको थिएँ, ‘यो सफलताको भारी मलाई एक्लै नबोकाउनुहोस्, यसले थिच्छ।’ किनभने, पर्दामा म देखिए पनि पर्दापछाडि कैयौंको अथक मेहनत लुकेको हुन्छ। त्यो सबैको मेहनतलाई बिर्सेर आफू मात्रै अगाडि देखिनु न्यायसङ्गत लाग्दैन।
त्यो सफलताको भारी बोकेर हिँड्दा कस्तो महसुस भयो?
सफलताको भार साँच्चै स्वादिलो र मीठो हुँदो रहेछ। वर्षौंदेखिको मेहनतले सार्थकता पाएको अनुभूतिले आनन्द दिन्छ। नहुँदासम्म त्यसको चाहना हुने, तर पाइसकेपछि त्यो सफलतालाई पचाउन सक्नु पनि ठूलो कुरा रहेछ। तर, एक कलाकारको हिसाबले एउटै चरित्रको भारी सधैँ बोकेर हिँडिरहन मन नलाग्ने रहेछ।
‘पूर्ण बहादुरको सारङ्गी’भन्दा अगाडि मलाई बाटोमा हिँड्दा कमैले चिन्थे, तर अहिले देख्नेबित्तिकै ‘पूर्ण बहादुर’ भनेर बोलाउनुहुन्छ। एउटा चरित्रले मलाई यति ठूलो पहिचान दियो, यो मेरो लागि गौरवको कुरा हो। तर, मलाई के लाग्छ भने, अब यो पात्रको जस खाइरहने होइन, नयाँ चरित्र निर्माण गरेर दर्शकलाई नयाँ स्वाद दिन सक्नुपर्छ।
यो फिल्मपछि त कतिको स्क्रिप्ट आए?
‘पूर्ण बहादुर सारङ्गी’को सफलतापछि प्रस्तावहरूको बाढी नै आयो भन्दा फरक पर्दैन। दिनमा कति फोन आउँथे, कति स्क्रिप्टहरू इमेल र ह्वाट्सएपमा आइपुग्थे, त्यसको कुनै लेखाजोखा नै छैन।
रमाइलो कुरा के भने, पहिला मलाई जुन किसिमका सहायक भूमिकाहरूका लागि सम्पर्क गरिन्थ्यो, अहिले कथाको केन्द्रमा रहने मुख्य पात्रका लागि प्रस्ताव आउन थालेको छ। यो परिवर्तन मेरो लागि ठूलो उपलब्धि हो।
एकैपटक ६-७ वटा फिल्मको प्रस्ताव पनि आयो, तर मैले हतारमा निर्णय लिन चाहिनँ। एउटा कामलाई न्याय दिन नसकी अर्कोमा हाम फाल्नु उचित लागेन, त्यसैले विनम्रतापूर्वक धेरैलाई ‘अहिलेलाई माफ गर्नुहोस्’ भन्नुपर्यो।
अब एक्लै फिल्म चलाउन सक्छु भन्ने आँट आउँछ कि आउँदैन?
फिल्म चलाउने कुरा कलाकारको हातमा मात्रै हुँदैन, यो एउटा सामूहिक प्रयास हो। यदि कथा, पटकथा र चरित्र बलियो छ भने म त्यो चरित्रलाई न्याय गर्न सक्छु भन्ने आँट छ। तर ‘विजय बराल’को नामले मात्रै फिल्म चल्छ भन्ने भ्रम म पाल्दिनँ।
अभिनय भनेको क्रिया र प्रतिक्रियाको खेल हो; मसँगै स्क्रिनमा देखिने सह-कलाकार जति अब्बल हुनुहुन्छ, मेरो अभिनय पनि त्यति नै निखारिन्छ। ‘पूर्ण बहादुरको सारङ्गी’ चल्नुमा पनि अन्य कलाकारहरूको सशक्त अभिनयको ठूलो हात छ।
त्यसैले, म एक्लैले धान्छु भन्नु अहंकार हुन्छ। हो, एउटा बलियो पात्र र त्यसलाई जीवन्त बनाउने टिम भयो भने जस्तोसुकै चुनौती मोल्न म तयार छु।
सहायक कलाकारको रूपमा चिनिइरहँदा, कुनै दिन म पनि हिरो बन्छु भन्ने लागेको थियो?
अवश्य लागेको थियो। मनको कुनै कुनामा त ‘मैले पनि मुख्य भूमिका पाएँ भने केही गज्जब गर्थेँ होला’ भन्ने हुन्थ्यो। तर, त्यो भावनालाई बाहिर व्यक्त गर्ने अवस्था थिएन। निर्माताले करोडौं लगानी गर्दा सुरक्षित विकल्प खोज्नु स्वाभाविक हो, र म सायद उहाँहरूका लागि जोखिम थिएँ। त्यसैले, मैले कहिल्यै हतार गरिनँ।
मलाई विश्वास थियो, मेरो समय आउँछ। सहायक भूमिकामा काम गर्दाको त्यो लामो यात्रा मेरो लागि एउटा विश्वविद्यालय बन्यो, जहाँ मैले अभिनयका अनेकौं पाटाहरू सिक्ने मौका पाएँ। सायद त्यही सिकाइ र धैर्यताले मलाई ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो भूमिका निर्वाह गर्नका लागि परिपक्व बनायो।
‘पूर्ण बहादुरको सारङ्गी’ पछि तपाईंका मुख्य भूमिका रहेका फिल्म ‘जनै हराएको मान्छे’ र ‘जारी २’ प्रति कतिको उत्साहित हुनुहुन्छ?
यी दुवै फिल्मलाई लिएर म असाध्यै उत्साहित छु। ‘जारी’ मा दर्शकले मंगलसिंहलाई जति माया दिनुभयो, ‘जारी २’ मा त्यो पात्रको जीवनका थप उतारचढाव र गहिराइ हेर्न पाउनुहुनेछ। त्यो चरित्रलाई पुनः बाँच्न पाउनु मेरो लागि चुनौतीपूर्ण र रोमाञ्चक दुवै छ।
‘जनै हराएको मान्छे’ भने एउटा बिल्कुलै फरक कथा हो, जसले सम्बन्धका सूक्ष्म धागाहरूलाई केलाउँछ। दुवै फिल्ममा मेरो चरित्र फरक छ र दर्शकले मलाई नयाँ रूपमा देख्न पाउनुहुनेछ भन्नेमा विश्वस्त छु।
‘जनै हराएको मान्छे’ को ट्रेलरको प्रतिक्रिया कस्तो आइरहेको छ?
सुरूमा पोस्टर सार्वजनिक गर्दा नै दर्शकमाझ एउटा कौतूहलता जागेको थियो। ट्रेलर आएपछि त प्रतिक्रिया झनै उत्साहजनक छ।
धेरैले यसलाई एउटा गम्भीर र अर्थपूर्ण सामाजिक कथा बोकेको फिल्मको रूपमा हेर्नुभएको छ। गीत र ट्रेलरमा आएका टिप्पणीहरू हेर्दा ८० प्रतिशतभन्दा बढी सकारात्मक नै छन्। दर्शकले कथाको गहिराइ र पात्रहरूको भावनालाई महसुस गरेको देख्दा निकै खुशी लागेको छ।
कतिपयले त यसलाई ‘पूर्ण बहादुरको सारङ्गी’ को भाग २ जस्तो पनि भनेका छन् नि?
हो, सामाजिक सञ्जालमा यस्ता केही प्रतिक्रियाहरू देखेको छु। सायद दुवै फिल्मको पृष्ठभूमि र मेरो चरित्रको भावनात्मक धरातल उस्तै लागेर होला।
‘पूर्ण बहादुरको सारङ्गी’ मा म बुवाको भूमिकामा थिएँ, यहाँ छोराको। त्यहाँ बाबुछोराको सम्बन्धको कथा थियो, यहाँ परिवारभित्रका अनेकौं सम्बन्ध-आमा, बुबा, दिदी-सबैको कथा छ।
कथाको स्वाद, प्रस्तुति र पात्रहरूको मनोदशा बिल्कुलै फरक छ। जीवनका केही भोगाइ मिल्दाजुल्दा देखिए पनि यो ‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा नितान्त फरक फिल्म हो।
अबको समयमा यस्तो भूमिकामा अभिनय गर्न पाए हुन्थ्यो भन्ने कुनै इच्छा छ?
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘जनै हराएको मान्छे’ जस्ता फिल्मले मलाई सामाजिक र भावनात्मक रूपमा गम्भीर चरित्रहरूतर्फ डोर्यायो। अब म आफ्नो अभिनयको दायरा फराकिलो बनाउन चाहन्छु।
मेरो मनमा अब अलिकति फरक, सायद शारीरिक र मानसिक रूपले जटिल, कुनै सस्पेन्स थ्रिलर वा पूर्ण रूपमा नकारात्मक (एन्टागोनिस्ट) चरित्र निर्वाह गर्ने रहर छ।
दर्शकले मलाई सधैँ एउटै ‘ड्रामा’मा हेरिरहनुभन्दा फरक-फरक भूमिकामा देख्न पाउनुभयो भने मेरो लागि पनि त्यो एउटा नयाँ चुनौती र सिकाइ हुनेछ। कलाकारको भोक कहिल्यै मर्दैन, र मेरो भोक अब नयाँ स्वाद चाख्नका लागि हो।
साउन ३१, २०८२ शनिबार १३:३२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।