दोस्रो फिल्ममै समीरलाई ‘एक्सन किङ्ग’को ट्याग भिराउने हतारो

काठमाडौं : फिल्मको कथ्यशैली, संरचना र अभिनयका दृष्टिले कमजोर भए पनि एक्सनका कारण समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ आर्थिक रूपमा हिट भयो। समीरको डिमान्ड बढ्ने नै भयो।
समीरलाई सन्तोष सेन नै डेब्यु गराउन चाहन्थे। तर, बिराज भट्ट आफैँ फिल्म बनाएर छोरालाई डेब्यु गराउन लागेपछि उनी ब्याक भए। तर, ‘१२ गाउँ’ चलाउन बिराजभन्दा बढी खटिएको देखिए सन्तोष।
प्रतिस्पर्धी फिल्म ‘छक्का पन्जा’को टिमले उनलाई सामाजिक सन्जालमा ट्रोल गराएको र नकारात्मक भावना फैलाउन भूमिगत रूपमा साइबर समूह बनाएर परिचालन गर्ने मास्टरमाइन्ड भएकोसम्म आरोप लगाए। सन्तोषले प्रतिवाद गरे।
कहिले छायांकनमा समस्या, कहिले भुक्तानीमा समस्या आउँदा-आउँदै सन्तोषले फिल्म ‘बलिदान’को आउटडोरको काम सक्काएर इन्डोरको काम गरिरहेका छन्। शनिबार टिजर सार्वजनिक गर्यो टिमले।
फिल्म ‘बलिदान’ संख्याको हिसाबले समीर भट्टको दोस्रो फिल्म हो। तर, दोस्रो फिल्ममै समीरलाई सन्तोषले ‘एक्सन किङ्ग’को ट्याग लगाइसकेका छन्।
अहिलेका नायकमध्येमा उनको एक्सन फरक देखिन्छ। शारीरिक संरचनामा मिहेनत गरेका छन्। तर, अभिनय भनेको मसल्स मात्र हैन। अभिनय पनि चाहियो नि किङ्ग नै हुन चाहिँ।
१२ गाउँमा देखिएको उनको अभिनय हेर्ने हो भने निखार्नुपर्ने टन्न ठाउँ देखिएको थियो। दोस्रो फिल्ममै ती सबै कमजोरी सुधारिन सम्भव थिएन। सुध्रियो भने त गजब भयो।
तर, सन्तोषले जसरी ‘प्रेमगीत ३’मा ‘बाहुबली’को कथा र चरित्र कपी गरेर नेपाली बनाउन र बबाल नेपाली फिल्म भनेर भारतमा रिलिज गर्न हतार गरेका थिए, समीरलाई पनि एक्सन किङ्गको ट्याग दिन उसरी नै हतार गरेको देखियो।
यसले फिल्मको प्रचारमा सघाउला, सन्तोषलाई फाइदा नै होला। तर, समीरका हकमा यो ट्याग भारी हुन पनि सक्छ।
टिजरको अन्य पक्षमा बिराजको स्वरले बलियो देखिएको छ। सौगात मल्ल, ऋचा शर्मा लगायत देखिएको टिजरमा समीर हावी छन्। काल्पनिक कथामा फिल्म बनेको सहजै देखिन्छ। हिंशाका दृश्यले प्राथमिकता पाएको छ।
नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढेसँगै सन्तोष त्यतैतिर लोभिएका छन्। फिल्म बलिदानमा पनि त्यसको प्रशस्त संकेत देखिएको छ।
साउन ३१, २०८२ शनिबार ११:५५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।