तिनाउको सुन्दरतामा लुकेको मृत्युको पासो, ड्याम साइट र भूतखोला युवाका लागि ‘डेथ जोन’ बन्दै

तिनाउको सुन्दरतामा लुकेको मृत्युको पासो, ड्याम साइट र भूतखोला युवाका लागि ‘डेथ जोन’ बन्दै

बुटवल : जेठको उखरमाउलो गर्मी। भारतको महाराजगन्ज, नौतनवाका १८ वर्षीय सोएब अन्सारी साथीभाइ र दाजुसँग शितलताको खोजीमा सीमा पार गर्दै बुटवल आइपुगे।

उनीहरूको गन्तव्य थियो, बुटवलबाट ६ किलोमिटर पर पाल्पाको तिनाउ गाउँपालिका-३ मा रहेको रमणीय ड्याम साइट।

तर, तिनाउको चिसो पानीमा डुबुल्की मार्ने उनको सपना, उनकै जीवनको अन्तिम यात्रा बन्यो। पौडी खेल्ने क्रममा गहिरो पानीमा डुबेका सोएबलाई साथीहरूले बचाउन सकेनन्।

सोएबको दुःखद अन्त्य यो क्षेत्रका लागि नौलो घटना होइन। तिनाउ खोलाको ड्याम साइट र नजिकैको भूतखोला, जसलाई प्रकृतिले अनुपम सुन्दरता दिएको छ, त्यही सुन्दरता अहिले धेरैका लागि अभिषाप बनिरहेको छ।

वर्षेनी दर्जनौं युवाले पौडी खेल्ने क्रममा यहाँ अकालमा ज्यान गुमाएपछि यी पर्यटकीय स्थलहरू ‘डेथ जोन’ का रूपमा चिनिन थालेका छन्।

आकर्षणको केन्द्र तर उत्तिकै जोखिम पनि
बुटवलबाट नजिकै, सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर छेउमा अवस्थित तिनाउ जलविद्युत् आयोजनाको ड्याम साइट र भूतखोलाको झरना गर्मीयाममा युवाहरूको प्रमुख गन्तव्य बन्छ।

रुपन्देही, पाल्पा, नवलपरासीदेखि छिमेकी भारतीय सहर नौतनवा, सुनौली र गोरखपुरबाट समेत दैनिक सयौंको संख्यामा युवाहरू यहाँको चिसो पानीमा रमाउन पुग्छन्। सामाजिक सञ्जालमा देखिने आकर्षक तस्बिर र भिडियोले पनि धेरैलाई यहाँ तान्ने गरेको छ।

तर, बाहिरबाट देखिने सुन्दरताभित्र डरलाग्दो यथार्थ लुकेको छ। बुटवल पावर कम्पनीको करिब ३० फुट गहिरो बाँधस्थल (ड्याम साइट) र भूतखोलामा झरनाबाट बनेको गहिरो दहको वास्तविकताबारे अधिकांश आगन्तुक अनभिज्ञ हुन्छन्।

पौडी खेल्ने राम्रो सीप नहुनु र खोलाको गहिराइ एवं अप्रत्याशित खोँचबारे जानकारी नहुँदा एकैछिनको रमाइलो जीवनभरको पश्चातापमा परिणत हुने गरेको छ।

१० वर्षमा ४२ जनाको डुबेर मृत्यु
जिल्ला प्रहरी कार्यालय, पाल्पाको तथ्याङ्कले यहाँको भयावह तस्वीर प्रस्तुत गर्छ।

पछिल्लो एक दशकमा मात्रै ड्याम साइट र भूतखोलामा डुबेर ४२ जनाले ज्यान गुमाएका छन्। जसमा तिनाउ ड्याम साइटमा ३५ जना छन् भने भूतखोलामा सात जना छन्।

गत आर्थिक वर्षमा मात्रै ड्याम साइटमा डुबेर ७ जनाको मृत्यु भएको थियो, जुन यो समस्या कति विकराल बन्दैछ भन्ने प्रमाण समेत भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव निरीक्षक कमल प्रधान बताउँछन्।

उनी भन्छन्, ‘नदीमा पौडी खेल्दा सामान्य सावधानी पनि नअपनाउँदा वर्षेनी धेरै युवाहरूको मृत्यु भइरहेको छ। यो अत्यन्त दुःखद हो।’

पाल्पा जिल्लाभरको तथ्याङ्क हेर्दा विगत १० वर्षमा डुबेर १३२ जनाको मृत्यु भएको छ, जसमा कालीगण्डकी नदीमा मात्रै ५१ जनाले ज्यान गुमाएका छन्।

स्थानीय सरकारको स्वीकारोक्ति
यस्ता दुर्घटना न्यूनीकरणका लागि प्रयास नै नभएका होइनन्। ड्याम साइट र भूतखोलाका विभिन्न ठाउँमा ‘खतरासूचक’ बोर्ड राखिएका छन्।

ड्याम साइटमा प्रवेश रोक्न तारजाली पनि लगाइएको छ। तर, यी उपायहरू प्रभावहीन भएका छन्। युवाहरू तारजाली नाघेर वा अन्य वैकल्पिक बाटोबाट जोखिमपूर्ण क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन।

सरोकारवाला निकायको प्रत्यक्ष र निरन्तर निगरानीको अभावमा यी सुरक्षा उपायहरू केवल देखावटी बनेका छन्। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ पनि आफ्नो प्रयास असफल भएको स्वीकार्छन्।

‘हामीले रोक्नका लागि तारजाली लगायौं, तर खोलाको क्षेत्र यति ठूलो छ कि मानिसहरू कहाँबाट भित्र पस्छन्, पत्तै हुँदैन’, उनी भन्छन्।

यो समस्या केवल तिनाउ खोलामा मात्र सीमित छैन। लुम्बिनी प्रदेशभर डुबेर मृत्यु हुनेको आँकडा निकै चिन्ताजनक छ।

प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामा ताल, पोखरी, इनार, खोला र सेफ्टी ट्यांकीमा डुबेर ४९२ जनाको मृत्यु भएको छ। झनै दुःखद कुरा, मृतकहरूमध्ये २१६ जना बालबालिका छन्।

आर्थिक वर्ष ०७८/७९ मा ८६ बालबालिकासहित १२५ जनाको डुबेर ज्यान जाँदा आर्थिक वर्ष ०७९/८० मा यो तथ्याङ्क बढेको छ। उक्त वर्ष ६६ बालबालिकासहित १७८ जनाको मृत्यु डुबेर भएको छ।

गत आर्थिक वर्ष ०८०/८१ मा यो संख्या घट्नुको साटो अझ बढिरहेको छ। गत आर्थिक वर्षमा प्रदेशभर ६४ बालबालिकासहित १८९ जनाको डुबेर मृत्यु भएको छ।

बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिमा राज्यको ध्यान केन्द्रित भए पनि डुबेर हुने मृत्युजस्तो गम्भीर विषयमा रणनीतिक पहल र रोकथामका कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन्। जबसम्म सचेतना, कडा निगरानी र सुरक्षित विकल्पहरूको व्यवस्थापन गरिँदैन, तबसम्म तिनाउ जस्ता रमणीय स्थलहरूले सोयबजस्तै कैयौं युवालाई निलिरहनेछन्।

साउन ३१, २०८२ शनिबार १०:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।