ट्रम्प-पुटिन वार्ता सकारात्मक भएको दाबी, तर युक्रेन युद्धमा ठोस प्रगति हुन सकेन

ट्रम्प-पुटिन वार्ता सकारात्मक भएको दाबी, तर युक्रेन युद्धमा ठोस प्रगति हुन सकेन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्काको एंकोरेजमा सम्पन्न बहुप्रतिक्षित वार्ता सकारात्मक वातावरणमा सकिए पनि युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुनै ठोस सम्झौता भने हुन सकेन।

करिब तीन घण्टा चलेको बन्द कोठाभित्रको वार्तापछि दुवै नेताले संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाए, तर युद्धविराम वा शान्ति सम्झौताको खाका सार्वजनिक भएन।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बैठकलाई ‘अत्यन्तै फलदायी र ऐतिहासिक’ भन्दै प्रशंसा गरे।

उनले भने, ‘राष्ट्रपति पुटिनसँग मेरो निकै राम्रो र स्पष्ट कुराकानी भयो। हामीले जटिल विषयहरूमा खुलेर छलफल गर्यौं। यो शान्तिका लागि एक महत्वपूर्ण कदम हो र मलाई विश्वास छ, हामी छिट्टै एउटा समाधानमा पुग्नेछौं।’

ट्रम्पले आफूहरूले सम्बन्ध सुधार गर्ने र विश्वलाई थप सुरक्षित बनाउने दिशामा काम गर्ने पनि बताउनुभयो, तर सम्झौताका विवरण दिन अस्वीकार गरे।

अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले वार्ता ‘रचनात्मक र सम्मानजनक’ भएको बताए। उनले युक्रेनको सुरक्षा सुनिश्चित गर्न रूस तयार रहेको तर त्यसका लागि द्वन्द्वका ‘मूल कारणहरू’ लाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

‘स्थायी शान्ति तब मात्र सम्भव छ, जब रूसको सुरक्षा चासोलाई सम्मान गरिन्छ,’ पुटिनले भने, ‘बाहिरी शक्तिहरूले युरोपेली मुलुकहरूलाई उक्साएर तनाव बढाउने काम बन्द गर्नुपर्छ।’

उनको यो भनाइलाई नेटोको विस्तार र युक्रेनलाई गरिने पश्चिमा सैन्य सहयोगप्रति लक्षित रहेको विश्लेषण गरिएको छ।

यो वार्ता युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धको पृष्ठभूमिमा आयोजना भएको हो। ट्रम्पले आफ्नो चुनावी अभियानमा नै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए र योबैठकलाई सोही वाचा पूरा गर्ने प्रयासका रूपमा हेरिएको छ।

यद्यपि, वार्ताको सकारात्मक भनिएको वातावरणका बाबजुद मुख्य मुद्दाहरूमा मतभेद कायमै रहेको देखिन्छ। अमेरिकी पक्षले युक्रेनको सार्वभौमिकता र अखण्डतामा जोड दिएको थियो भने रुसी पक्षले नेटोको विस्तार र युक्रेनलाई गरिने सैन्य सहयोगप्रति गम्भीर आपत्ति जनाएको थियो।

यी विषयहरूमा कुनै सहमति जुट्न नसक्दा बैठक ठोस उपलब्धिबिना टुंगिएको हो।

यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको थियो। युक्रेनले कुनै पनि सम्झौता आफ्नो सहभागिता र सहमतिबिना हुन नहुनेमा जोड दिएको छ। युरोपेली संघका नेताहरूले भने संवादको स्वागत गरे पनि रूसमाथिको दबाब कम गर्न नहुने संकेत दिएका छन्।

साउन ३१, २०८२ शनिबार ०९:२१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।