पाकिस्तानमा बाढीका कारण २४ घण्टामा १८९ जनाको मृत्यु, उद्धारका खटिएको हेलिकप्टर नै दुर्घटनाग्रस्त

पाकिस्तानमा बाढीका कारण २४ घण्टामा १८९ जनाको मृत्यु, उद्धारका खटिएको हेलिकप्टर नै दुर्घटनाग्रस्त

इस्लामावाद : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोका कारण २४ घण्टाभित्र १८९ जनाको मृत्यु भएको छ। मृतकहरूमा १६३ पुरुष, १४ महिला र १२ बालबालिका रहेका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अनुसार, ६० भन्दा बढी मानिस घाइते भएका छन् भने कैयौँ अझै बेपत्ता छन्। खैबरमा उद्धार कार्यमा खटिएको एक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।​​​​​​

खैबरको बुनर जिल्ला बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ९१ जनाले ज्यान गुमाएका छन्। यसबाहेक, स्वातमा २६ घर, तीन विद्यालय र आठ अन्य भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

पीडीएमएले अगस्ट २१ सम्म भारी वर्षा जारी रहने सम्भावना रहेको चेतावनी दिएको छ। खैबर सरकारले प्रभावित जिल्लाहरूका लागि ५० करोड पाकिस्तानी रुपैयाँ राहत रकम विनियोजन गरेको छ।

यसैगरी, पाकिस्तान प्रशासित कश्मीरमा ९ जना र गिलगित-बाल्टिस्तानमा भारी वर्षा र बाढीका कारण ५ जनाको मृत्यु भएको छ। दुर्गम क्षेत्रहरूमा उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि खराब मौसम र भत्किएका सडकहरूले राहत कार्यमा बाधा पुर्याइरहेको छ।

उद्धार टोलीका प्रवक्ता मुहम्मद सोहैलका अनुसार, अहिलेसम्म १५७ भन्दा बढी शव निकालिएको छ र १०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यद्यपि, खराब मौसम र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

जलवायु परिवर्तनले बढायो संकट
विज्ञहरूका अनुसार, जलवायु परिवर्तनका कारण दक्षिण एसियाली मुलुकहरू वर्षौंदेखि प्राकृतिक प्रकोपको चपेटामा पर्दै आएका छन्।

पाकिस्तान जलवायु परिवर्तनको दृष्टिकोणले पहिलेदेखि नै अत्यन्त संवेदनशील मुलुक हो। यस वर्ष जुलाईमा पाकिस्तानी पञ्जाबमा गत वर्षको तुलनामा ७३ प्रतिशत बढी वर्षा रेकर्ड गरिएको थियो।

अधिकांश क्षेत्रहरूमा पुराना र कमजोर घर, उचित ढल निकास प्रणालीको अभाव र नदी किनारमा अतिक्रमणका कारण क्षति बढेको हो। घर भत्किँदा र विद्युतीय करेन्ट लाग्दा पनि धेरैको मृत्यु भएको छ।

यो वर्ष मनसुन सुरु भएयता पाकिस्तानमा ३२० भन्दा बढीको मृत्यु भइसकेको छ, जसमध्ये लगभग आधा बालबालिका रहेका छन्।

साउन ३१, २०८२ शनिबार ०८:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।