म्याच फिक्सिङमा दोषी ठहर श्रीलङ्काका पूर्व क्रिकेटर सालिया समानमाथि पाँच वर्षको प्रतिबन्ध

काठमाडौं : श्रीलङ्काका पूर्व घरेलु क्रिकेटर सालिया समानमाथि क्रिकेटका सबै गतिविधिमा पाँच वर्षको प्रतिबन्ध लगाइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को भ्रष्टाचार विरोधी न्यायाधिकरणले उनलाई इमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेकोमा दोषी ठहर गरेको हो।
यो प्रतिबन्ध १३ सेप्टेम्बर २०२३ देखि लागू हुने गरी तोकिएको छ, जुन दिन समानलाई प्रारम्भिक रूपमा निलम्बन गरिएको थियो।
उनी २०२१ को अबु धाबी टी१० प्रतियोगितामा पुणे डेभिल्स फ्रेन्चाइजसँग सम्बन्धित आठ व्यक्तिहरूमध्ये एक थिए, जसमाथि संहिता उल्लंघनको आरोप लगाइएको थियो।
यही प्रकरणमा बंगलादेशका अलराउन्डर नासिर होसेनलाई पनि जनवरी २०२४ मा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो।
समानमाथि २०२१ को अबु धाबी टी१० मा खेल वा खेलको कुनै अंशलाई अनुचित रूपमा मिलाउन, प्रभावित पार्न वा फिक्स गर्ने प्रयासमा संलग्न भएको, भ्रष्ट आचरणमा संलग्न हुनका लागि अर्को खेलाडीलाई पुरस्कार प्रस्ताव गरेको र कुनै अन्य खेलाडीलाई संहिता उल्लंघन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उक्साउएको तीन आरोप उनीमाथि लगाइएको थियो।
तीन सदस्यीय न्यायाधिकरणले आफ्नो अन्तिम निर्णयमा भनेको छ, ‡समानले अबु धाबी टी१० का लागि एक खेलाडीलाई भर्ती गर्न खोजेका थिए। उनले ती खेलाडीलाई सबै खेल खेलाउने आश्वासन दिँदै दुई खेलमा ‘म्याच फिक्सिङ’ भनेर बुझिने गतिविधिमा संलग्न हुनुपर्ने सर्त राखेका थिए।’
३९ वर्षीय अलराउन्डर समानले आफ्नो करियरमा १०१ प्रथम श्रेणी, ७७ लिस्ट 'ए' र ४७ टी-२० खेल खेलेका छन्। उनले अन्तिम पटक मार्च २०२१ मा एसएलसी टी-२० प्रतियोगितामा खेलेका थिए।
साउन ३१, २०८२ शनिबार ०७:५५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।