भैरहवा कारागारबाट डिल्लीबजार सरुवा मागेका रविलाई नक्खुमा ल्याइने

भैरहवा कारागारबाट डिल्लीबजार सरुवा मागेका रविलाई नक्खुमा ल्याइने

काठमाडौं : रुपन्देहीको भैरहवा कारागारबाट काठमाडौंको डिल्लीबजारमा सरुवा मागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार प्रशासनले ललितपुरमा रहेको नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको छ।

कारागार व्यवस्थापन विभागको नेतृत्व बदलिए लगत्तै महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रवार लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरेका हुन्।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका उनले कारागार सरुवा हुन पटक पटक प्रयास गरे पनि कारागार प्रशासनले स्वीकृत गरेको थिएन।

उनले डिल्लीबजार कारागारमा आउने प्रयास गरेका थिए। काठमाडौंको दुई कारागारमध्ये धेरैको रोजाइमा डिल्लीबजार कारागार पर्छ। तर कारागार प्रशासनले नक्खुमा रहेको कारागारमा ल्याउने निर्णय गरेको हो।

नक्खु कारागारमा नयाँ भवन समेत बनेको छ। तर सो भवन प्रयोगमा आइसकेको छैन। सहकारी ठगीमा जिल्लाबाट धरौटी निस्किएपछि उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी चार महिनादेखि भैरहवाको कार्यालयमा छन्।

अत्यधिक गर्मी रहेको र परिवारका सदस्यलाई भेट्न आउन पनि समस्या भएको भन्दै उनले कारागार सरुवाको लागि निवेदन दिएका थिए। तर उनको सरुवा भएको थिएन।

साउन ३०, २०८२ शुक्रबार २१:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।