‘महाराजधिराज’को टुङ्गो नलागेपछि ‘३६ आँकडा’मा भित्रिए पुष्प, पूजाको जोडी बन्दै

‘महाराजधिराज’को टुङ्गो नलागेपछि ‘३६ आँकडा’मा भित्रिए पुष्प, पूजाको जोडी बन्दै

काठमाडौं : फिल्म ‘मंगलम्’को चर्चाले हौसिएका पुष्प खड्कालाई त्यसपछिका फिल्महरूले नमज्जाले पछार्यो। महँगो पारिश्रमिकको चर्चासहित उनले फिल्म ‘कृष्ण लीला’ र ‘मनसँग मन’ जस्ता असफल फिल्महरूमा अभिनय गर्न पुगे। गुणस्तरीय कथा तथा पटकथा छान्न नजान्दा पुष्प लगातार पछारिन पुगे।

५० लाख पारिश्रमिक तोकेका पुष्पलाई निर्माता र निर्देशकले लिनै खोजेनन्। योग्य स्क्रिप्ट छान्न नसक्दा पछारिएका पुष्प करिब दुई वर्ष गुमनाम जस्तै बने। छोटो समयका म्युजिक भिडियोमा अभिनय गरे तापनि उनको कामले चर्चा पाएन। न उनी पूर्ण रूपमा गुमनाम भए, न उनका कामले कुनै चर्चा बटुले। न कुनै मिडियामा नै उनी छाए।

एक महिना अघि परिच्छेद सेनको फिल्म ‘महाराजधिराज’बाट कमब्याक गर्ने कुरा चर्चामा आयो। यो फिल्मका मुख्य अभिनेता पल शाह बाहिरिएपछि पुष्पको इन्ट्री भएको थियो। तर फिल्म फ्लोरमा जाने कुरा अचानक सेलाएपछि उनले अर्को अवसर खोजे।

अब पुष्प सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ आँकडा’मा भित्रिएका छन्। पुष्पले उकेरासँगको कुराकानीमा आफू फिल्म ‘३६ आँकडा’मा काम गर्ने फाइनल भएको बताए। उनका अनुसार फिल्म सोमबारबाट छायांकनमा जाने तयारीमा छ।

फिल्ममा पुष्पको जोडी अभिनेत्री पूजा शर्मा हुनेछिन्। निर्देशक श्रेष्ठले पुष्प र पूजालाई जोडी बाँधेका छन् भने अभिनेत्री रेखा थापाको जोडीका रूपमा महेश त्रिपाठी छन्। महेश पछिल्लो समय व्यस्त अभिनेता हुन् र उनले फिल्म ‘लाज शरणम्’मा गरेको मेहनतले उनलाई चर्चामा ल्याएको हो।

त्यसैले अघिल्ला फिल्मको तुलनामा पुष्पले यो फिल्ममा धेरै मेहनत गर्नुपर्ने अवस्था छ। ‘कृष्ण लीला’ र ‘मनसँग मन’ पछि करियरमा पछि परेका पुष्पलाई ‘३६ आँकडा’मा आफ्नो प्रस्तुति सुधार गर्ने अपेक्षा गरिएको छ। दुई वर्ष गुमनाम बसेका पुष्पले अभिनयमा राम्रै मेहनत गरेको हुनुपर्ने विश्वास छ।

यस फिल्मले एक्लै प्रदर्शन पाउने छैन। फिल्मको तोकेको प्रदर्शन मितिमा (आगामी चैत २७) अन्य फिल्महरू ‘मितज्यू’ र ‘राम नाम सत्य’ पनि प्रदर्शनमा आउनेछन्। त्यसैले पुष्पले यसपटक बढी मेहनत गर्नै पर्ने देखिन्छ। नत्र फेरि गुमनाम भइएला है पुष्प जी ! 

साउन ३०, २०८२ शुक्रबार २०:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।