हत्याका फरार अभियुक्त कांग्रेस केन्द्रीय कार्यालयमा, पोल खुलेपछि निस्कासन

हत्याका फरार अभियुक्त कांग्रेस केन्द्रीय कार्यालयमा, पोल खुलेपछि निस्कासन

काठमाडौं : पृष्ठभूमि नै नहरी केही नेताले बोकेर ल्याएका व्यक्तिलाई पार्टीको सदस्य बनाएको कांग्रेसले उनी थमन विकको हत्यामा फरार अभियुक्त रहेको खुलेपछि सदस्यता फिर्ता लियो। 

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले देवेन्द्र यादवलाई पार्टीको सदस्यता दिएका थिए। शुक्रवार उनको सदस्यता खारेज भयो। 

उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन्। टिकापुर आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुत्नेमध्ये उनी पनि अभियुक्त हुन्।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ मा महोत्तरीमा बिकको हत्या भएको थियो। उक्त मुद्दामा यादवसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। 

शुक्रबार कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्मा छलफल गरिरहेको बेलामा केही साथीहरूले देवेन्द्रलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम सभापतिले निजलाई सदस्यता प्रदान गरेको र बुझ्दै गर्दा उनीमाथि फौजदारी कानुनी कारबाही प्रक्रियामा रहेको भन्ने थाहा हुन आएकोले पार्टी सदस्यता खारेज गरिएको उल्लेख छ। 
 
पौडेलले यादवमाथिको कानुनी कारबाहीको प्रक्रियाको सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको र उनलाई पार्टीमा ल्याउन भूमिका खेल्ने नेताहरूलाई पनि कांग्रेसले सचेत गराएको उल्लेख गरेका छन्।

साउन ३०, २०८२ शुक्रबार १९:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।