कान्तिपुर म्याक्सको दादागिरी : सरोगेट छाडेर अब सिधै अनलाइन जुवा कम्पनीकै विज्ञापन देखायो

कान्तिपुर म्याक्सको दादागिरी : सरोगेट छाडेर अब सिधै अनलाइन जुवा कम्पनीकै विज्ञापन देखायो

काठमाडौं : विज्ञापन नियामक निकायलाई बारम्बार अटेर गर्दै आएको कान्तिपुर म्याक्स टेलिभिजनले फेरि अनलाइन जुवाको प्रचार गरेको छ।

अष्ट्रेलियामा जारी टप एन्ड टी२० क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारणको अधिकार पाएको कान्तिपुर म्याक्सले अनलाइन जुवा कम्पनी बीजे८८ र डाफाबेटको विज्ञापन देखाइरहेको छ।

जारी सिरिजमा खेलको रिप्ले र हाइलाइट्सको समयमा टेलिभिजनले ‘बाजी बाइ बीजे८८’को प्रचार गरिरहेको छ भने स्कोरबोर्डमा डाफाबेटको विज्ञापन छ।

यसका अलावा अष्ट्रेलियाको मैदानबाट अर्को बेटिङ कम्पनी ३६५बेटको पनि प्रचार भइरहेको छ। यी तीनै अनलाइन जुवाका वेबसाइट हुन्।

यसअघि कान्तिपुर म्याक्सले अनलाइन जुवा कम्पनीका सरोगेट कम्पनीको प्रचार गरेको थियो। अहिले सिधै अनलाइन जुवा कम्पनीकै प्रचार गरिरहेको छ।

रिप्लेमा देखाइएको बाजी अनलाइन बेटिङ र स्कोरबोर्डमा देखाइएको डाफाबेट अनलाइन जुवाको विज्ञापन।

तीनै वटै कम्पनीको जुवाको प्रचार अष्ट्रेलियाबाट आएको फिडमै भएको देखिन्छ। नेपालमा मात्र नभएर यो फिडबाट प्रसारण गर्ने बंगलादेशको टी-स्पोर्ट्स र पाकिस्तानको ए स्पोर्ट्समा पनि यी तीनवटै साइटहरूको खुलेआम प्रचार भइरहेको छ।

अष्ट्रेलियामा स्पोर्ट्स बेटिङ कानुनी छ। जसकारण त्यहाँ खुलमखुला अनलाइन जुवाका बेवसाइटहरूको प्रचार हुने गर्छ। तर नेपाल, भारत, बंगलादेश र पाकिस्तानजस्ता देशहरूमा अनलाइन जुवा, स्पोर्ट्स बेटिङ गैरकानुनी हो। यस्ता देशहरूमा ती बेटिङ साइटहरूले सरोगेट विज्ञापन प्रयोग गरिरहेका हुन्छन्।

नेपालमा त कुनै पनि प्रकारको जुवा खेल्न, खेलाउन र प्रवर्द्धन गर्न पाइँदैन।

उसो त कान्तिपुर म्याक्सले अनलाइन जुवाको प्रचार गरेको यो नै पहिलो पटक होइन। नेपाली टेलिभजिनमा अनलाइन जुवाको प्रचार गर्ने पहिलो संस्था नै कान्तिपुर म्याक्स हो।

यसअघि कान्तिपुर टेलिभिजनले इन्डियन प्रिमियर लिग (आईपीएल) प्रत्यक्ष प्रसारणको बेलामा पनि अनलाइन जुवा कम्पनी मेलबेटको सरोगेट कम्पनी मेलब्याटको प्रचार गरेको थियो।

कान्तिपुर म्याक्सकै सिको गर्दै अन्य न्युज च्यानलहरूले पनि समाचारमै अनलाइन जुवाको सरोगेट कम्पनीको प्रचार गरेका थिए। तर, उकेराको समाचार र निरन्तरको फलोअपपछि प्राइम टाइम्स, न्यूज२४ र एभिन्यूज टेलिभिजनले अनलाइन जुवाको प्रचार रोकेका थिए।

किन यसो गरिएको हो भनेर बुझ्न कान्तिपुर म्याक्सको समेत जिम्मेवारी पाएका कान्तिपुर टेलिभिजनका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरजसिंह ठकुरीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन।

यसअघि आईपीएलको समयमा अनलाइन जुवाको प्रचार गर्दा उनले उनले थाहा नपाए झैँ प्रतिक्रिया दिएका थिए।

उकेराले गैरकानुनी रूपमा अनलाइन जुवाको प्रचार गरिरहेको बारेमा जानकारी गराएपछि कान्तिपुर म्याक्सले प्रचार बन्द गर्नुको सट्टा झन् ठूलो साइजमा टेलिभिजनमा देखाएको थियो।

यसका अलावा उकेराको समाचारपछि नियामक विज्ञापन बोर्डले टेलिभिजनलाई यसबारेमा स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टिकरणपछि पनि उसले अनलाइन जुवाको प्रचार गर्न छाडेन। अहिले नियामकलाई पेलेरै टेलिभिजनले अनलाइन जुवाकै प्रचार गरिरहेको छ।

कान्तिपुर म्याक्सले अनलाइन जुवाको प्रचार गरेपछि उकेराले विज्ञापन बोर्डलाई किन यस्तो भइरहेको छ भनेर प्रश्न गरेको थियो। जवाफमा बोर्डका पदाधिकारीले पत्रपछि टेलिभिजनहरूले यस्तो प्रचारबाजी अब नगर्ने भनेर बोर्डलाई पत्र पठाएको दाबी गरे।

‘यसबारेमा हामीले भर्खरै थाहा पायौं। कान्तिपुर म्याक्सलाई यसअघि पनि हामीले स्पष्टिकरण सोधिसकेका छौँ,’ बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भने, ‘केही समयअघि हामीले चिठी लेखेपछि अब हामीले गर्दैनौ भनेर चिठी लेख्या छन्। पटक–पटक हो भने त यो अटेरमा जान्छ। हामी एक्सनमा जान्छौँ।’

अनलाइन जुवा कम्पनीको विज्ञापनमा कडा नीति लिएको कानुन सरोगेटको विषयमा भने मौन छ।

‘सरोगेट विज्ञापनको विषयका कानुन साइलेन्ट छ,’ उनले अगाडि भने, ‘सरोगेटको विज्ञापन प्रसारण गर्नेहरूका बारेमा हामीले पत्र पठाइरहेका छौँ। रोकिराखेकै पनि छ। तर, सरोगेटको विषयमा कानुन मौन छ। त्यसकारण पनि एउटा कानुन बनाउनैपर्छ भन्ने मुडमा छौँ हामी।’

उता सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि अनलाइन वा अफलाइन कुनै पनि आवरणमा जुवाको प्रचार गर्न नपाइनेमा दृढ छ। 

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव गजेन्द्रकुमार ठाकुर जुवाको प्रचार गर्न नपाइने सरकारको नीति रहेको बताउँछन्।

‘कुनै पनि आवरणमा नेपालमा जुवाको प्रचार गर्न पाइँदैन। बेटिङ साइटहरू नेपालमा प्रतिबन्धित छ,’ उनी भन्छन्, ‘प्रतिबन्धको बावजुद पनि प्रचारप्रसार भए विज्ञापन ऐनअनुसार त्यस्ता सञ्चार माध्यमहरूलाई कारबाही हुन्छ।’

नेपाल क्रिकेट संघले आयोजना गरेको नेपाल प्रिमियर लिगमा मैदानमै भएको अनलाइन जुवाको प्रचारको बारेमा मन्त्रालयमा आएको निवेदनको बारेमा विज्ञापन बोर्डलाई पत्राचार गरेर कारबाहीको प्रक्रिया अघि बढिसकेको उनको भनाइ थियो।

‘एनपीएलमा भएको जुवाको प्रचारको सन्दर्भमा मन्त्रालयबाट विज्ञापन बोर्डमा गएर कारबाही क-कसलाई गर्नुपर्ने हो, सम्बन्धित निकायलाई लेखेर पठाइसकेको अवस्था छ। अनलाइन जुवाको प्रचारको सन्दर्भमा नियमन र कारबाहीको काम विज्ञापन बोर्डले गर्छ’, उनी थप्छन्।

यसका अलावा सहसचिव ठाकुर कानुन निर्माणको चरणमा नेपालमा सरोगेट विज्ञापनको खासै चलन नै नभएकाले कानुन त्यसबारेमा मौन बसेको बताउँछन्।

‘सरोगेट विज्ञापनको बारेमा कानुनले केही पनि बोलेको छैन। २०७६ सालमा कानुन निर्माणको क्रममा नेपालमा सरोगेट विज्ञापनको खासै चलन थिएन। तर अन्य प्रावधानका लागि हामीले विज्ञापन (नियमन गर्ने) ऐनअनुसार कारबाही हुन्छ।’

यस्तो छ जुवा कानुन
नेपालमा सबै खालका जुवा प्रतिबन्धित छ। संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ।

सो ऐनका अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ।

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ। दफा ३ को उपदफा १ मा लेखिएको छ, ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घरकोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन।’

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ।

त्यस्तै विज्ञापन नियमन ऐन २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिट्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ।

तर, कानुनी छिद्रको फाइदा उठाउँदै प्रतिबन्धित सट्टाबाजीको ‘सरोगेट विज्ञापन’ भइरहेको छ। कानुनमा सरोगेट विज्ञापनको बारेमा स्पष्ट व्यवस्था नभए पनि अनलाइन जुवाको प्रचारको कानुन यसमा आकर्षित हुने देखिन्छ।

के हुनसक्छ समाधान?
भारतजस्ता देशहरूले विदेशबाट कुनै सिरिजको ब्रोडकास्टिङ राइट्स खरिद ग्राफिक्स वा कमेन्ट्रीविनाको रअ फिड लिएर त्यसमा आफैँले ग्राफिक्स वा कमेन्ट्री गर्ने गर्छन्।

यस्तो अवस्थामा मैदानमा राखिएका विज्ञापनबाहेक अन्य विज्ञापन प्रचार हुँदैन। जसकारण अनलाइन जुवा खुला भएका देशबाट भएका प्रत्यक्ष प्रसारण प्रतिबन्ध लगाइएका देशहरूमा हुन पाउँदैन। यद्यपि यसका लागि केही जनशक्ति भने आवश्यक पर्छ।

हालै भारत र इङ्गल्यान्डबीच भएकाे टेस्ट सिरिजमा भारतमा प्रसारण गर्ने सोनी स्पोर्ट्स नेटवर्क, जियोहटस्टार अनि बेलायतमा प्रसारण गर्ने स्काइ स्पोर्ट्सले भिडियो एउटै देखाए पनि त्यसका भएका ग्राफिक्सम फरक-फरक थियो। जसकारण एउटाले देखाएको विज्ञापन अर्कोले प्रसारण गर्नु परेको थिएन।

यो पनि:

साउन ३०, २०८२ शुक्रबार १९:२५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।